• ११ असोज २०८१, शुक्रबार

सामुदायिक पुस्तकालय सुनसान

blog

मीना कँडेल

कावासोती, असोज ८ गते । कुनै समय खचाखच भिड लाग्ने पुस्तकालयमा पछिल्लो समय पाठकको चाप शून्य जस्तै बन्न थालेको छ । पुस्तकालयप्रति पाठकको आकर्षण घट्दो क्रममा छ । नवलपुर जिल्लाका विभिन्न स्थानमा दर्जनौँ पुस्तकालय छन् । विद्यालय/क्याम्पसले पनि पुस्तकालय खोलेका छन् ।

विद्यालय र क्याम्पसमा पाठ्यक्रमका पुस्तक पढ्नेबाहेक बाह्य ज्ञान हासिल गर्न अध्ययन गर्ने व्यक्तिको सङ्ख्या शून्य जस्तै छ । पछिल्लो समय प्रविधिको विकाससँगै इन्टरनेट र युट्युबमार्फत नयाँपुराना पुस्तक पढ्न र सुन्न पाइने भएकाले पनि पुस्तकका पाठक घटेको पुस्तकालयको भनाइ छ । 

नवलपुरका विभिन्न स्थानमा सञ्चालित पुस्तकालयमा आएर पुस्तक पढ्नेको सङ्ख्या घटिरहेको अग्यौली सामुदायिक पुस्तकालय कावासोती–१६ का लाइब्रेरियन चेतना रसाइलीले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले सबैसँग मोबाइल, ल्यापटप छ । आधुनिकतातर्फ समाज अघि बढिरहेको छ, जे हेरे पनि वा पढे पनि इन्टरनेटबाट खोज्दा पाइन्छ । त्यसैले पनि होला, पुस्तकालयमा आएर पुस्तक पढ्ने फुर्सद नै छैन ।” 

कावासोती–१६ स्थित अग्यौली सामुदायिक पुस्तकालयमा नेपाली, अङ्ग्रेजी भाषा साहित्यसँगै इतिहास, धर्म, संस्कृति र व्याकरणसँग सम्बन्धित नयाँ पुराना गरी तीन हजारभन्दा धेरै पुस्तक छन् तर पुस्तकालय आएर पुस्तक पढ्नेको सङ्ख्या दिनप्रतिदिन घटिरहेको उहाँले बताउनुभयो । अग्यौली सामुदायिक पुस्तकालयमा पहिला दैनिक ४०/५० जना आउने गरे पनि अहिले मुस्किलले दिनमा पाँच/छ जना मात्र आउने गरेका उहाँको भनाइ छ । 

यस्तै विजय सामुदायिक स्रोत पुस्तकालयमा पाठक शून्य अवस्थामा छ । एक दशकदेखि पाठकको मन जित्दै आएको उक्त पुस्तकालयहरूमा पुस्तकसँगै अन्य विधामा रमाउने बालबालिकाका लागि पनि पाठक, श्रोता र दर्शकको रुचिलाई ध्यान दिँदै श्रव्यदृश्य उपकरण पनि राखिएको छ । ती उपकरण भने प्रयोगविहीन भइरहेका छन् । विजय सामुदायिक पुस्तकालयमा एक जना पनि नआउने गरेको र धेरै जसो शून्य सङ्ख्यामा पाठक आउने गरेको विजय सामुदायिकका सुजन पौडेलले बताउनु भयो । 

ग्रामीण भेगमा समेत पुस्तकालय तथा सूचना केन्द्र स्थापना गरेर स्वअध्ययनको संस्कृतिलाई बढावा दिन सक्ने हो भने पुस्तकालयको सकारात्मक प्रभावका कारण समाज रूपान्तरणमा सशक्त काम गर्न सकिने बद्री नेपाल बताउनुहुन्छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुरमा नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको छ । नागरिक र प्रहरीबिचको समन्वयसुदृढ गर्न र बाह्य  ज्ञानको सीमा बढाउन ‘नागरिक प्रहरी पुस्तकालय’ स्थापना गरिए पनि प्रभावकारी नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला प्रहरी कार्यालयमा स्थापना गरिएको ‘नागरिक प्रहरी पुस्तकालय’ मा  ऐनकानुन, साहित्य र अन्य विभिन्न विधाका गरी करिब आठ सय पुस्तक राखिएको छ ।

 यहाँ कार्यरत प्रहरीले आफ्नो फुर्सदको समयमा पुस्तक पढ्ने गरे पनि कामविशेषले आउने सर्वसाधारणले समयको सदुपयोग गर्न पुस्तक पढ्ने बानी विकास गर्नु पर्छ ।” जिल्ला प्रहरी कार्यालयसहित पाँच प्रहरी युनिटका हिरासतमा रहने थुनुवाका लागि जिल्ला प्रहरी कार्यालयको अगुवाइमा ‘हिरासतमा किताब’ कार्यक्रम अन्तर्गत हिरासतमा पुस्तकालय सञ्चालन गरिएको छ ।