• ११ असोज २०८१, शुक्रबार

गर्मीले जनजीवन कष्टकर बन्दै

blog

गर्मी बढेसँगै सुनसान देखिएका ग्रामीण क्षेत्रका सडक । तस्बिर : बाबुराम कार्की/गोरखापत्र

बाबुराम कार्की 

वराहक्षेत्र, असोज ७ गते । गर्मी बढेसँगै तराईको जनजीवन कष्टकर बन्दै गएको छ । एक सातादेखि बढेको गर्मी तथा तापक्रमका कारण सुनसरीसहित तराईका जिल्लाहरूको जीवन कष्टकर बनेको हो । 

असोज सुरु भएसँगै तराईमा तापक्रम बढ्दै गएपछि सुनसरी जिल्लाको प्रमुख सहरहरू र ग्रामीण क्षेत्रहरूमा चहलपहल घटेको छ । तापक्रम बढेसँगै बिहानैदेखि गर्मी हुँदा मानिसहरूको जनजीवन प्रभावित बनेको छ । मानिसहरु घरबाहिर निस्कनसमेत समस्या हुने गरेको रामधुनी ८ का पुष्पराज विष्टले बताउनुभयो ।   

बिहानैदेखि गर्मी सुरु हुँदा किसान, मजदुर र विद्यार्थाीहरु बढी गर्मीको चपेटामा परेका छन् । गर्मी अत्यधिक बढेपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालयहरू असोज नौ गतेसम्म तीन दिनका लागि बन्द गरेको छ । गर्मी बढेपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको पालिका शिक्षा शाखाले जनाएको छ । यता वराहक्षेत्र नगरपालिकाले समेत अत्यधिक तापक्रम बढेपछि असोज ८ गते एक दिनको लागि नगरक्षेत्रमा रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको वराहक्षेत्र नगरपालिकाले जनाएको छ । 

बिहानैदेखि तापक्रम बढ्ने र हावा नचल्ने हुँदा जनजीवन प्रभावित बन्नुका साथै कृषि बालीमा समेत असर पुगेको छ । गर्मी बढेपछि पूर्वी तराईका सहर र ग्रामीण क्षेत्रहरूमा मानिसहरूको चहलपहल पातलो हुन थालेको छ । 

अत्यधिक गर्मीका कारण हस्पिटल र स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीमा हुनसक्ने रोगहरू बाट जोगिन सतर्कता अपनाउनु पर्ने सुनसरी जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पतालका प्रमुख राजकुमार मेहताका अनुसार गर्मीका कारण झाडापखाला, ज्वरो र व्यहोस भएर आउने बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको छ । 

गर्मीमा हैजा र हेपाइटिस लगायत रोगका जीवाणु पनि बढी सक्रिय हुन सक्ने हुँदा सतर्कता अपनाउनु पर्ने जिल्ला अस्पताल सुनसरीले जनएको हो । गर्मीका कारण टाउको दुख्ने, घाटी दुख्ने, शरीर शिथिल हुने, आँखा पोल्ने जस्ता रोगहरुबाट जोगिन सतर्कता अपनाउनु पर्ने बताइएको छ । गर्मीबाट जोगिनका लागी बढी पानी पिउने, खानामा सलादको मात्रा बढाउने, ग्लुकोज, जुस, फलफूल सेवन गर्ने, बिना काम घर बाहिर घाममा ननिस्कने र निस्कन परे शरीर ढाक्ने सुतीजन्य लुगा लगाउन स्वास्थ्य कर्मीहरूले सुझाएका छन् ।