• ११ असोज २०८१, शुक्रबार

‘पर्वोत्सव सहुलियत छुट मूल्य पसल’ सञ्चालनमा

blog

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले सञ्चालन गरेको सहुलियत पसल । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, असोज ७ गते । चाडवाडलाई लक्षित गरेर रुकुमपश्चिममा ‘पर्वोत्सव सहुलियत छुट मूल्य पसल’ सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुमपश्चिमले मुसीकोट नगरपालिका –१ सल्लेमा सहुलियत पसल सञ्चालन गरेको हो । 

कार्यालयका प्रमुख विनोद चन्दका अनुसार नजिकिदै गरेको दशैँ, तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गरिएको हो । उहाँले कार्यालयले हाल बिक्री गर्दै आइरहेको चामलको मूल्यमा छुट दिएर बिक्री गरिरहेको जानकारी दिनुभयो । कार्यालयमा रहेको चामलमा प्रतिकिलो पाँच रुपियाँ छुट गरेर सहुलियत पसल सञ्चालन गरिएको हो । 

कार्यालय प्रमुख चन्दले सहुलियतमा चामल बिक्री गर्न थालेपछि चामल लिन आउनेहरुको सङ्ख्या बढेको जानकारी दिनुभयो । कार्यालयले स्टिम जिरा मसिनो चामललाई प्रतिकिलो ९६ रुपियाँ, अरुवा सोना मन्सुली चामललाई प्रतिकिलो ६५ रुपियाँ, अरुवा मध्यम चामललाई प्रतिकिलो ६५ रुपियाँ र अरुवा मोटा चामललाई ६३ रुपियाँमा बिक्री गर्दै आएकोमा अहिले भने सबै प्रकारका चामलमा प्रतिकिलो पाँच रुपियाँ छुट दिएर बिक्री सुरु गरेको छ । 

कार्यालयमा अहिले ५५४.५० क्विन्टल चामल मौजुदा छ । जिल्लावासीको माग भएमा थप चामल व्यवस्थापन गर्न सकिने कार्यालयले जनाएको छ । स्थानीयवासीहरुले भने चामलसँगै अन्य खाद्यन्न सामग्रीहरुको लागि पनि सुपथ मूल्य पसल सञ्चालन हुनुपर्ने माग राखेका छन् । उनीहरुले चाडवाडको समयमा चामलसँगै दाल, मैदा, तेल, नुन, चिनीलगायतका खाद्यान्न सामग्रीहरु सहुलियतमा पाएमा राहत हुने जनाएका छन् ।