• १२ असोज २०८१, शनिबार

मह किसानको समस्या अध्ययन गर्न समिति गठन

blog

छलफलमा सहभागी कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलगायत ।

काठमाडौं, असोज ६ गते। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले  मह उत्पादक किसानको समस्या अध्ययन गर्न समिति  गठन गर्नुभएको छ।  

आइतबार मन्त्रालयमा सरोकारवालाको सहभागितामा बसेको  बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षलाई सहभागी गराएर ९ सदस्यीय समिति गठन गर्नुभएको हो। समितिलाई १५ दिन भित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ। 

बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक  दुबै पक्षको हित हुने गरी कार्यदलले सुझाव दिने विश्वास व्यक्त गर्नुभयो। 

मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरेर स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने भए पनि मह किसानको तत्काल देखिएको समस्या समाधान गर्न जरुरी रहेको बताउनुभयो। समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढ्ने मन्त्री अधिकारीले बताउनुभयो। 

मह किसानले हाल मौज्दात रहेको २१ सय मेट्रिक टन मह बिक्रीको व्यवस्था मिलाइदिन सरकार समक्ष माग गरेका छ्न्। मह आयत रोके पनि सिरफको रुपमा यसको आयात भइरहेको भन्दै मह किसानले महको आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने  लगायतका माग राखेका छ्न् ।