• १२ असोज २०८१, शनिबार

रेडपान्डा ट्रेल म्याराथनका विजेता महिला धावकलाई सम्मान

blog

अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन प्रतियोगिताका विजेता महिलाहरुलाई सम्मान ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज ६ गते । नेपाल शेर्पा सङ्घ ताप्लेजुङले अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन (दौड) प्रतियोगिताका विजयी महिला धावकलाई सम्मान गरेको छ । म्याराथनमा चौँथो स्थानसम्म आउन सफल चार जना महिला धावकलाई शेर्पा सङ्घले नगद र प्रशंसापत्रसहित सम्मान गरेको हो । 

ताप्लेजुङस्थित हिमाली संरक्षण मञ्चले विश्व रेडपान्डा दिवसको अवसरमा शनिबार अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन आयोजना गरेको थियो । उक्त म्याराथन प्रतियोगिताको महिला विधातर्फ ताप्लेजुङ फुङ्लिङकी कुमारी गुरुङ प्रथम हुनुभएको थियो । यस्तै ओखलढुङ्गाकी लाक्पा ङिमा शेर्पा दोस्रो हुनुभयो । 

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाकी दासाङ्गी शेर्पा र याङ्गी शेर्पा क्रमशः तेस्रो र चौँथो हुनुभयो । प्रतियोगितामा सहभागी विदेशी महिला धावकसहित ११ जनामध्ये पहिलो, दोस्रो, तेस्रो र चौँथो स्थानमा आउने चार जनालाई जनही पाँच हजार रुपियाँ नगद र प्रशंसापत्रद्वारा सम्मान गरिएको नेपाल शेर्पा सङ्घका जिल्ला सचिव फुर्वा शेर्पाले बताउनुभयो।

अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथनमा साहसिक सहभागिता भएकाले विजेता महिला धावकहरुको थप मनोवल बढाउनमा सहयोग पुर्‍याउने उद्देश्यले सम्मान गरिएको पनि शेर्पाले बताउनुभयो । म्याराथनका लागि सदरमुकाम फुङ्लिङदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा धाम पुगेर पुनः फुङ्लिङ आइपुग्नुपर्ने गरी ४८ किलोमिटर दूरी निर्धारण गरिएको थियो ।