• १२ असोज २०८१, शनिबार

दुई महिनामा साढे २ अर्ब राजश्व सङ्कलन

blog

आर्थिक मामिला तथा योजना मन्त्रालय ।

अनिल पराजुली

हेटौँडा, असोज ६ गते । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा बागमती प्रदेश सरकारले साढे २ अर्ब राजस्व सङ्कलन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आव २०८१-८२ को भदौ मसान्तसम्म २ अर्ब ६५ करोड ४३ लाख ४२ हजार राजस्व सङ्कलन भएको हो । 

गत आवको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा बागमती प्रदेश सरकारको राजस्व सङ्कलनमा वृद्धि भएको तथ्याङ्कले देखाएका छ । मन्त्रालयबाट प्राप्त तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०-८१ को भदौ मसान्तसम्मको आयभन्दा २२ दशमलव ३ प्रतिशतले राजस्व सङ्कलन वृद्धि भएको हो । 

आर्थिक वर्ष २०८०-८१ को दुई महिनामा २ अर्ब १७ करोड ५२ लाख ११ हजार राजस्व सङ्कलन गरेको प्रदेश सरकारले चालु आव २०८१-८२ मा ४७ करोड ९१ लाख ३१ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख होमनाथ रिजालले जानकारी दिनुभयो । गत आवमा ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार अनुमान गरिएकोमा भाद्र मसान्तसम्म ३ दशमलव ४७ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो भने चालु आवमा कुल आय अनुमानको ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारमा ४ दशमलव ११ प्रतिशत राजस्व प्राप्ति भएको तथ्याङ्क छ । 

चालु आवमा प्रदेश सरकारले घरजग्गा रजिष्ट्रेशन दस्तुर, बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर, बाँडफाँड भई प्राप्त हुने अन्त शुल्क, सवारी साधन कर, मनोरञ्जन कर र दहत्तर वहत्तरको बिक्रीबाट प्राप्त हुने आय मार्फत राजस्व सङ्कलन गरेको हो । प्रदेश सरकारको सबैभन्दा धेरै आम्दानीको स्रोत सवारी साधन कर र घरजग्गा रजिष्ट्रेशन दस्तुर वापतको राजस्व देखिन्छ । 

सवारीसाधन कर वापत एक अर्ब ११ करोड ८० लाख ११ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत २ करोड ९३ लाख ९२ हजार राजस्व सङ्कलन गर्न सफल भएको छ । त्यस्तै मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आवको दुई महिनामा बाँडफाँड भई प्राप्त दहत्तर बहत्तरको बिक्रीबाट एक करोड १४ लाख ५० हजार, मनोरञ्जन कर वापत ८३ हजार, र अन्त शुल्क वापतको कर १९ करोड ६४ लाख २० हजार राजस्व सङ्कलन भएको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रिजालले जानकारी दिनुभयो ।