• ११ माघ २०८१, शुक्रबार

मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

blog

क्वालालम्पुर,  असोज ६ गते । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई पक्राउ गरेको जानकारी दिएको छ । 

प्रहरी महानिरीक्षक रज्जारुद्दीन हुसेनले शनिबार ग्लोबल इखवान सर्भिस एन्ड बिजनेस (जीआईएसबी) का बाँकी सदस्यहरू पत्ता लगाउन गरेको अनुसन्धानका क्रममा संदिग्धलाई पक्राउ गरेको बताउनुभयो ।  प्रहरीले लामो समयदेखि हाल प्रतिबन्धित अल–अर्काम सम्प्रदायसँगको सम्बन्धका लागि विवादास्पद रहेको (जीआईएसबी) समूहलाई अनुसन्धानको दायरामा राखेको थियो । 

पक्राउ परेका मध्ये जिआइएसबीका नेता नसिरुद्दिन अलीसहित अन्य ३०  जना सदस्य रहेका थिए । 

प्रहरीले च्यारिटी होम, क्लिनिक, व्यवसाय, धार्मिक विद्यालय र निजी निवाससहित ८२ वटा परिसरमा छापा मारेको रज्जारुद्दिनले बताउनुभयो । अपरेसनमा कम्तीमा १८६  पीडितको उद्धार गरिएको उहाँले बताउनुभयो । 

मलेसियाका प्रहरी प्रमुख रज्जारुद्दीन हुसेनले मङ्गलबार अधिकारीले यस समूहसँग सम्बन्धित ९६ वटा बैङ्क खाताहरू फ्रिज गरेको बताउनुभएको थियो जसमा लगभग १ लाख २४ हजार डलर रहेको थियो । रासस /एएफपी