• १२ असोज २०८१, शनिबार

बर्दिबासमा कुष्ठरोग शून्यमा झार्ने अभियान

blog

कुष्ठरोगीका विश्वव्यापी अभिभावक योहेइ सासाकावा लालगढ लेप्रोसी असपतालको विभिन्न कार्यत्रममा सहभागी हुँदै । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, असोज ६ गते । कुष्ठरोग निवारणका लागि विश्वव्यापी अभियानकर्ता एवम् जापानी नागरिक योहेइ सासाकावाले सन् ३० सम्म कुष्ठरोगलाई शून्यमा झार्ने उद्घोष गर्दै लालगढ लेप्रोसी असपतालमा एक करोड ७७ लाख रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ । 

कोषबाट प्राप्त हुने व्याज रकमले यस भेगका कुष्ठ प्रभावित तथा तीनका परिवारको पुर्नस्थापन, जीविकोपार्जन र रोजगारीमा सहयोग पुर्‍याउने उद्देश्यले अनुदान सहयोग गरेको उहाँले बताउनुभयो । कुष्ठरोगीको अवस्था बुझ्न आफ्ना सहयोगीहरुका साथ लालगढ लेप्रोसी असपताल पुग्नुभएको सासाकावाले अस्पताल परिसरमा आइतवार आयोजित कार्यक्रममा नेपाल लेप्रोसी ट्रष्टका प्रमुख कमलनारायण श्रेष्टबीच प्रतिवद्धता पत्रमा संयुक्त हस्ताक्षर गरेपछि अक्षयकोषको औपचारीक घोषणा गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै सासाकावाले यो कोषको सफल र प्रभावकारी कार्यान्वयको अवस्था हेरेरे भविष्यमा सहयोग अनुदान थप्दै जाने विश्वास दिलाउनुभयो । उहाँले आफू डेढ दशकअघि लालगढ असपतल आएको विगत स्मरण गर्दै तुलनात्मक रुपमा यो असपतालको राम्रो व्यवस्थापन, स्तरीय उपचार, विश्वसनीय सेवा र विरामीप्रतिको स्नेहभावले आफू प्रभावित भएर अक्षयकोषमा सहयोग गरेको बताउनुभयो । 

ढाका टोपीमा सजिएका उहाँले भन्नुभयो, ‘यो असपतालको कुष्ठरोगका सेवा र कार्यक्रमलाई ‘मोडेल’ को रुपमा अघि बढाउँदै हामी सबै मिलेर कुष्ठरोगलाई शून्यमा झार्नु पर्छ। अहिलेको कोषको सफल कार्यान्वयन भएमा यसमा रकम बढाउँदै लान पनि सकिन्छ ।’ 

यसअघि सासाकावा र उहाँका सहयोगीले लालगढ लेप्रोेसी असपतालको विभिन्न वार्डहरुको निरीक्षण गर्नुभएको थियो । यसक्रममा सासाकावाले असपतालको अन्तरङ्ग कक्षमा उपचार गराइरहेका कुष्ठरोग प्रभावित बिरामीहरुको बेडमै पुगेर स्वास्थ्य अवस्था र सेवा प्रवाहबारे जानकारी लिनु भएको थियो । उहाँले मधेश प्रदेशमा कुष्ठरोगको अवस्था, त्यसको उपचार र निवारणका बारेमा लालगढ लेप्रोसी असपतालमा जानकारी लिनुका भएको थियो । सासाकावाले असपतालको अन्तरङ्ग कक्षमा भर्ना भएका कुष्ठरोगका विरामीहरुसँग भेटघाट गरि असपतालको सेवाबारे प्रत्यक्ष जानकारी लिनु भएको थियो । 

कुष्ठरोगीहरुका विश्वव्यापी अभिभावकले भर्ना भएका बिरामीका घाउहरुमा सेवा र स्नेहको हात राखिदिदा असपतालको वातावरण भावपूर्ण बनेको थियो । ८५ वर्षीया सासाकावाको अभिभावकीय स्नेहले लामो समयदेखि कुष्ठरोगको उपचार गराइरहेकी भारत मधुवनीकी १५ वर्षीया पिंकी पासवान र सप्तरी कटरवन्नाकी रिङकु साहका आँखा रसाएका थिए । अस्पतालमा २६ वर्षदेखि सेवा पुर्‍याउँदै आउनुभएकी स्टाफ नर्स दुर्गा तामाङका अनुसार अन्तरङ्ग कक्षमा अहिले ३६ महिला, ९ बालबालिका र ५३ पुरुष गरि ९८ जना कुष्ठरोगीको उपचार चलिरहेको छ । 

अस्पतालका मेडिकल डाइरेक्टर डा कृष्णबहादुर लामाले कुष्ठरोग प्रभावितलाई नवजीवन दिन सासाकावाले पुर्‍याउनुभएको योगदानको चर्चा गर्दै मुलकभरमा सबैभन्दा बढी ३७ प्रतिशत कुष्ठरोगी रहेको मधेश प्रदेशमा सन ३० सम्म कुष्ठरोग मुक्त समाज (जीरो ल्याप्रोसी) को अभियान आफैंमा चुनौतीपूर्ण रहेको बताउनुभयो । 

तथापि कुष्ठरोग निवारणका लागि विश्व स्वास्थ्य संगठनको सद्भावना राजदुत तथा ‘द निप्पोन’ फाउण्डेसनको अध्यक्ष योहेइ सासाकावाको ‘जीरो ल्याप्रोसी’ अभियानले नेपालमा पनि मूर्तरुप पाउने डा लामाले विश्वाश व्यक्त गर्नुभयो । सासाकावालाई संयुक्त राष्ट्र संघले सन २००१ मा कुष्ठरोग निवारणका लागि सद्भावना दुत नियुक्त गरेको थियो । उहाँका पिताले सन १९७४ मा स्थापना गर्नुभएको ‘सासाकावा हेल्थ फाउण्डेसन’ का मानार्थ अध्यक्ष तथा सन १९६२ मा स्थापित ‘द निप्पोन’ फाउण्डेसनका अध्यक्ष समेत हुनुहुन्छ । उहाँले कुष्ठरोगलाई शून्यमा झार्ने र यसका प्रभावितलाई सवै प्रकारका समस्याबाट मुक्त पार्ने महान उद्देश्यका साथ सन २०२० देखि ‘सासाकावा ल्याप्रोसी इनिसियटिभ’ मार्फत विश्वव्यापीरुपमा रणनीतिक अभियानको नेतृत्व गर्दै आउनुभएको असपतालका सामुदायिक स्वास्थ्य तथा विकाश विभाग प्रमुख रमेश चौधरीले जानकारी गराउनुभएको थियो ।  

कुष्ठरोगीले प्रयोग गर्ने औषधी ‘एमडीटी–कोम्वी’ को पनि सासाकावाले विश्वभर निशुल्क आपूर्ति गर्दै आउनुभएको छ । कुष्ठ रोग निवारणका लागि नेपाल ल्याप्रोसी ट्रष्टद्वारा सन् १९९१ मा स्थापना भएको लालगढ अस्पतालमा ५० हजारभन्दा बढी कुष्ठरोगीको सफल उपचार तथा पुर्नस्थापना भएको अस्पतालका सपोर्ट सर्भिस म्यानेजर सुमन तामाङले जनाउनुभयो । अहिले यस अस्पतालमा नेपाल र भारतका गरि दैनिक ४०० बढी बिरामीको चाप रहेको छ ।