• ११ असोज २०८१, शुक्रबार

दुर्गमलाई सुगम बनाउँदै हुलाकी सडक

blog

नेपालगन्ज अगैया जोड्ने हुलाकी सडक कालोपत्रे गरिएपछि । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज ४ गते।  केही वर्ष अघिसम्म जिल्लाका दुर्गम र विकट मानिने बाँकेका पूर्वी क्षेत्रहरु अहिले हुलाकी सडकका कारण सुगम र विकसित हुन थालेका छन्।  

नेपालगन्जबाट अगैया र नरैनापुर जोड्ने हुलाकी सडक निर्माण गरिएपछि जिल्लाको बिकट मानिने नरैनापुर र राप्तीसोनारीका धेरै गाउँबस्ती अहिले सुगम बनेका छन्।  सो सडकका कारण स्थानीयलाई आवतजावतमा सहज भएको छ।  

कालोपत्र भएको हुलाकी सडकबाट सवारीसाधनमार्फत नेपालगन्ज आवतजावत गर्न स्थानीयलाई निकै सहज भएको राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताउनुभयो।  

उहाँले भन्नुभयो­“हामी पहिले कोहलपुर हुँदै नेपालगन्ज जानुपर्ने बाध्यता थियो तर अहिले त्यो अवस्था समाप्त भएको छ। ” अहिले कृषि उपजका सामग्री किनबेच गर्न बेलैमा नेपालगन्ज पुग्न सजिलो भएको वडाअध्यक्ष चौधरीको भनाइ छ।  

अहिले राप्तीसोनारी गाउँपालिकाका–३, ४, ५, ६ लगायतका वडाहुँदै हुलाकी सडक नेपालगन्जबाट अगैया बजारसँग जोडिएको छ।  सो सडकका कारण विनौना, धामपुर, चाचरफर्का, गोरधुइया, बैजापुर, नारायणपुर क्षेत्रका साना बजारसमेत चलायमान भएका छन्। 

राप्तीसोनारी ४ का नरेश चौधरीले हुलाकी सडकका कारण विकासको बाटो पनि खुलेको जनाउँदै वर्षाको समयमा हुने झन्झटको समेत अन्त्य भएको बताउनुभयो।  

हुलाकी सडक कालोपत्र भएपछि अटो, मोटरसाइकललगायत साना सवारीसाधनको आवतजावत बढेको स्थानीयको भनाइ छ।  स्थानीय जीवन थापाले धुलाम्मे अवस्था सधैँका लागि अन्त्य भएको बताउनुभयो।  उहाँका अनुसार नेपालगन्ज–अगैया जोड्न थारुमारेमा पक्की पुल निर्माण भएकोले झनै सहज भएको छ।  राप्ती नदीमा निर्माण भएको सो पुलले अगैया–नेपालगन्जबाहेक नरैनापुरलाई समेत जोडेको छ। 

वि.सं २०७८ मा सुरु भएको उक्त सडक वि.सं २०८० मा सम्पन्न भएको थियो।  हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेले हुलाकी सडकलाई राजमार्गसँग जोडेर कुसुमबाट दाङ जोड्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो। 

नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले हुलाकी सडक निर्माणकै कारण नेपालगन्ज नरैनापुर सिधै जोडिएकोले यस क्षेत्रका जनतालाई धेरै सहज भएको बताउनुभयो।  

उहाँले यसअघि सो सडक नहुँदा नेपालगन्ज पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने, बर्षाको बेला बाटो नै बन्द हुने हुँदा स्थानीयले ठुलो सास्ती भोग्नु परेको बताउनुभयो।  

सडकसंगै नरैनापुरसम्म विद्युत समेत पुगेपछि कुनै बेला बाँकेको श्रीलंका भनेर चिनिने नरैनापुर अब सुगम र विकसित बन्दै गएको अध्यक्ष शाहको भनाइ छ।