• २५ पुस २०८१, बिहिबार

नदीले धार परिवर्तन गर्दा पुलमा आवतजावत ठप्प

blog

नदीले उत्तरतर्फ धार परिवर्तन गरेपछि आवतजावत अवरुद्ध भएको झोलुङ्गे पुल । तस्बिर सौजन्य : महेश महर

अविनाश चौधरी
धनगढी, असोज ४ गते ।
नदीले धार परिवर्तन गरेपछि झोलुङ्गे पुलमा आवतजावत ठप्प भएको छ । कैलालीको गोदावरी नगरपालिका–९ भल्कास्थित खुटिया नदीमा बनेको झोलुङ्गे पुलमा आवतजावत ठप्प भएको हो ।

पौने तीन करोड लगानीमा गत वर्षमात्रै सो पुल निर्माणकार्य सकिएको थियो । नदीको धार दक्षिणतिर भएको बेला पुल बनाइएकोमा अब नदीले उत्तरतिर धार परिवर्तन गरेपछि एक वर्षमै पुलमा आवतजावत ठप्प भएको छ ।

अस्ती आएको बाढीको क्रममा नदीले उत्तरतर्फको पहुँच मार्ग भत्कायो । अहिले पुलको पहुँचमार्गमा नदी बग्न थालेको छ भने पुल नदीको बिचमा परेको छ ।

जमिन कटान गर्दै नदी पुरानो धारमा फर्केका कारण अहिले पुल बेकामे बनेको स्थानीयको भनाइ छ । बेलैमा तटबन्ध गरेको भए अहिले यस्तो अवस्था नआउने उनीहरु बताउँछन् । स्थानीय भरतविक्रम शाहले पुलको उत्तरतर्फ नदीले गरिरहेको कटान नियन्त्रण गर्न आवश्यक रहेको भनेर झकझक्याउँदा पनि सरोकारवालाले ध्यान नदिएपछि यो हविगत भएको बताउनुभयो ।

“पुलको उत्तरतर्फ नदीले कटान गरिरहेको छ । बेलैमा तटबन्ध गरेर कटान नियन्त्रण गरौं भनेर मैले जनप्रतिनिधिको ध्यानाकर्षण गराएको थिए”, उहाँले भन्नुभयो, “तर, कसैले सुनुवाइ नगर्दा आज पुलको यो हालत भयो ।”

स्थानीयका अनुसार पहिले खुटिया नदी हाल पुल बनाइएको क्षेत्रभन्दा उत्तरतर्फबाट बग्ने गरेको थियो । पछि दक्षिणतर्फ आएको नदी अहिलेफेरि पुरानै ठाउँतिर धार परिवर्तन गरेपछि पुल ओहोरदोहोर गर्न नमिल्ने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड ७० लाखमा निर्मित यो पुलको निर्माण कार्य गत वर्षमात्रै पूरा भएको थियो । २०७६ साल मङ्सिर ८ गते यो पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । काठमाडौँको खाम्पाचे थानी रुबिना जेभीले पुल बनाएको हो । यो पुल बनेपछि गोदावरी नगरपालिका–९ को राजफाँटा, बल्मी र सेहरीका स्थानीयलाई ओहोरदोहोर गर्न सहज भएको थियो ।

नदीको धार दक्षिणतर्फ रहेको बेला पुल बनाइएकोमा अहिले नदीले धार उत्तरतर्फ मोडेको वडा अध्यक्ष रामलाल रानाको भनाइ छ । उहाँले अब तटबन्ध गरेर नहुने भन्दै उत्तरतर्फ पुल थप्न आवश्यक देखिएको उल्लेख गर्नुभयो । “उत्तरतर्फ होचो भूभाग रहेकाले नदी उतै मोडिएको छ”, अध्यक्ष रानाले अगाडि थप्नुभयो,“त्यसैले तटबन्ध गरेर पुल जोगाउन सकिन्न बरु, उत्तरतर्फ पुल थप्नु उपयुक्त हुन्छ ।”