• ११ असोज २०८१, शुक्रबार

पौडी पोखरी बन्ने जग्गामा सिरु र सिसौ

blog

पोखरा रङ्गशालामा पौडी पोखरी निर्माणका लागि छुट्याइएको जग्गा । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, असोज ४ गते । पोखरा रङ्गशालाको दक्षिणी भागमा पौडी पोखरी निर्माणका लागि २२ रोपनी जग्गा छुट्याइएको छ । प्रदेश खेलकुद परिषदको भवन छेउको यो जग्गामा अहिले सिरु फुलिरहेको छ । केही सिसौका रुख छन् । 

गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सरकारी पौडी पोखरी नहुँदा व्यावसायिक खेलाडी उत्पादन भएका छैनन् । भएका पौडी खेलाडी पनि पलायन हुँदैछन् । आठौं सागमा काँस्य पदक विजेता पौडी खेलाडी आनन्द सुवेदीलाई दशौं राष्ट्रिय खेलकुदका लागि तयारीको चिन्ता छ । 

गण्डकी प्रदेश पौडी सङ्घका अध्यक्षसमेत रहनुभएका सुवेदीले भन्नुभयो, “कोच पनि छैन, पौडी पोखरी पनि छैन । दशौंको तयारी कसरी गर्ने होला खै ?” स्वयंसेवक प्रशिक्षकका रुपमा सुवेदीले काम गर्दै आउनुभएको छ । 

पाँच वर्षअघि बनेको पौडी पोखरीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा पौडी पोखरी निर्माणका लागि ४५ लाख लाग्ने उल्लेख थियो । नवौं राष्ट्रिय खेलकुद पोखरामा हुनेबेला यहाँ पौडी पोखरी बनाउने चर्चा भए पनि बनेन । निजी विद्यालयको पौडी पोखरीमा राष्ट्रिय प्रतियोगिता भएको थियो ।

दशौं खेलकुदको तयारी भइरहँदा यहाँका सरोकारवालाले पौडी पोखरी बनाउन प्रदेशको खेलकुद मन्त्रालयलाई गुहारेका छन् । प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापालाई ज्ञापनपत्र बुझाउँदै सरोकारवालाले यथाशीघ्र पौडी पोखरी निर्माणअघि बढाउन आग्रह गरेका छन् । 

मन्त्री थापाले मन्त्रालयले यसलाई गम्भीर रुपमा लिएको र चाँडै निर्माणको अगुवाइ गर्ने आश्वासन दिनुभएको छ । पौडी सङ्घका सचिव अनिल थापा पौडी खेलको विकास र खेलाडी उत्पादनका लागि रङ्गशालाभित्र अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी बनाउनुपर्नेमा जोड दिनुभयो । पोखरामा पौडी पोखरी नहुँदा यहाँ खेल गतिविधि नगण्य छन् ।