• ११ असोज २०८१, शुक्रबार

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिने

blog

हरिकृष्ण ऐडी

मुगु, असोज ४ गते । हिमाल जिल्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले चाडपर्व लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले बिहीवार एक कार्यक्रम आयोजना गर्दै कम्पनीको पत्रचार अनुसार चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज ७ गतेदेखि माघ २ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जानकारी गराएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख राजबहादुर राका अनुसार चामलमा प्रति केजी पाँच रुपियाँका दरले अनुदान पाउने व्यवस्था छ । 

जिल्लाका उपभोक्ताको उच्च मागलाई ध्यान दिएर यस वर्ष चाडपर्व लक्षित गरि सुपथ मूल्य पसलका लागि दुई हजार क्विन्टल चामल वितरण गरिनेछ । चार प्रकारका चामलसँगै तेल, घिउ र दाल बिक्री गरिने उहाँले बताउनुभयो । केन्द्रीय र प्रदेश कार्यालयले दाल र तेलको हकमा कति रुपियाँ अनुदान दिने भनी परिपत्र नआएको उहाँले बताउनुभयो ।

यता नागरिक अभियान्ता रुपबहादुर मल्लका अनुसार जिल्लाका नागरिकको सहजताको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रीय र प्रदेश कार्यालयले यथासक्दो छिटो तेल र दालमा अनुदान तोकी बिक्री गर्न उहाँले सुझाव दिनुभएको छ ।