• ११ असोज २०८१, शुक्रबार

गाईगोरु सडकमा छाडे बिस हजार जरिबाना

blog

छाडा गाईगोरु धपाउँदै प्रहरी ।

तौलिहवा समाचारदाता

तौलिहवा (कपिलवस्तु), असोज ४ गते । कपिलवस्तुको शिवराज नगरपालिकाले घरमा पालेका गाईगोरु सडकमा छाड्नेलाई जरिबाना तिराउने भएको छ । नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन गरे पनि नगरभित्र गाईगोरुको सङ्ख्या नघटेपछि पालिकाले यस्तो निर्णय गरेको हो । 

नगरप्रमुख अजय थापाका अनुसार घरमा पालेको गाईगोरुलाई सडकमा छाड्नेलाई २० हजार जरिबाना लिने निर्णय भएको छ । उहाँले कार्यपालिकाको बैठकबाट गाईगोरु सडकमा छोडेको पाइएमा उक्त रकम जरिबाना हुने र पालिकालाई गाईगोरु छाडा छोडेको सूचना दिने व्यक्तिलाई १० हजार पुरस्कार दिने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रमाणसहित सूचना दिने व्यक्तिको नाम गोप्य राखिने छ ।” जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यका अनुसार छाडा चौपाया व्यवस्थापनका लागि जिल्लाका १० पालिका, प्रदेश सरकार र प्रधानमन्त्री समेतलाई भेटेर संयुक्त ध्यानाकर्षण गराउँदासमेत वनको स्वीकृति नपाउँदा समस्या समाधान हुन सकेको छैन ।  छाडा चौपायाका कारण सडक दुर्घटनासमेत बढेको उहाँको भनाइ छ । 

छाडा चौपायाका कारण कृषकले धेरै समस्या भोग्नु परेको छ । गत आर्थिक वर्ष छाडा चौपायाका कारण कपिलवस्तुमा तीन वटा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको थियो । दुध दिन छाडेका गाई र हलो जोत्न नसक्ने गोरु जथाभाबी छोड्नाले छाडा चौपायाको समस्या बढेको छ ।  छाडा गाईगोरुको यकिन तथ्याङ्क कुनै पालिकासँग छैन । केही स्थानीय तहले दुई/चार सय छाडा चौपाया गौशालामा व्यवस्थापन गरे पनि धेरै चौपाया अझै बाहिरै छन् । जङ्गल र सडकमा ती चौपाया देखिन्छन् ।