• ११ असोज २०८१, शुक्रबार

संविधान संशोधन र कार्यान्वयनको माग

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, असोज ४ गते । रुकुमपश्चिमका विभिन्न राजनीतिक दलका प्रमुखले समयानुकूल संविधान संशोधन र प्रभावकारी कार्यान्वयनको माग गरेका छन् । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा दलका अगुवाले समयानुकूल संशोधन र प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । 

नेपाली कांग्रेसका जिल्ला उपसभापति हर्कसिंह खत्रीले सत्तारूढ दल संविधान संशोधनको पक्षमा रहेको र आवश्यकताका आधारमा संशोधन हुनुपर्ने बताउनुभयो । लामो त्याग र सङ्घर्षपछि जारी भएको संविधान कार्यान्वयनका क्रममा भएका जटिलता फुकाउनसमेत आवश्यक रहेको उहाँले बताउनुभयो । 

नेकपा (एमाले) का जिल्ला अध्यक्ष नन्दराम देवकोटाले व्यवस्था बदल्न जारी भएको संविधानले जनताको अवस्था बदल्न नसकेको बताउनुभयो । उहाँले जनताले प्रत्यक्ष संविधानको अनुभूत हुने गरी आवश्यक कानुन परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य वसन्त शर्माले संविधानका राम्रा पक्ष कार्यान्वयन गर्ने क्रमका जटिलता कानुनकै सहायतामा समाधान हुनुपर्ने जनाउनुभयो । संविधानको रक्षा गर्दै परिवर्तनलाई प्रतिफलमुखी बनाउन सबै तह र तप्का सकारात्मक हुनुपर्ने उहाँको भनाइ रहेको छ ।

दिवसकै अवसरमा आयोजित कार्यक्रममा जिल्ला न्यायाधीश रामप्रसाद बस्यालले संविधानले परिकल्पना गरेका विषय असाध्यै उत्कृष्ट र उपयोगी रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले कानुनको सही कार्यान्वयनमार्फत लाभ लिन सक्नुपर्ने उल्लेख गर्नुभयो । 

यसैबिच दिवसको अवसरमा जिल्ला सदरमुकामलगायत सबै पालिकामा प्रभातफेरी, सरसफाइ, फलफूल वितरण र दीप प्रज्वलन गरिएको छ । सदरमुकाममा जिल्ला समन्वय समितिको अगुवाइ तथा मुसीकोट नगरपालिकाको समन्वयमा र अन्य पाँच पालिकास्तरमा विविध कार्यक्रमका साथ दिवस मनाइएको हो । 

जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले गाउँ गाउँमा तीन दिनसम्म खुसियालीका साथ दिवस मनाइएको जानकारी दिनुभयो । असोज १, २ र ३ गते जिल्लास्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा सङ्घ संस्थाका कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखेर सजाइएको, दीप प्रज्वलन गरिएको उहाँले बताउनुभयो । 

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले संविधान दिवसका अवसरमा बृहत् प्रभातफेरी, अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको बताउनुभयो । त्यसै गरी बाँफिकोट गाउँपालिकाले प्रभातफेरीसँगै सरसफाइ कार्यक्रम गरेर दिवस मनाएको छ भने अन्य पालिकाले पनि विविध कार्यक्रम गरेर संविधान दिवस मनाएका छन् । 

त्यसै गरी जाजरकोट समाचारदाताका अनुसार जाजरकोटमा प्रभातफेरीसहित विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाइएको छ । कार्यक्रम अन्तर्गत राष्ट्रसेवक कर्मचारी र राजनीतिक दल तथा जनप्रतिनिधिबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरिएको छ । खेलमा राष्ट्रसेवक कर्मचारी टिम राजनीतिक दल तथा जनप्रतिनिधि टिमलाई १–० ले पराजित गर्दै विजयी भएको छ । 

त्यस्तै बिहीबार बिहान भएको प्रभातफेरी कार्यक्रम अन्तर्गत भेरी नगरपालिका थाप्लेदेखि बजार परिक्रमा गर्दै गैरीखाली चोकमा आएर सभामा परिणत भएको थियो । प्रभातफेरीमा राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गैरसरकारी संस्थाका प्रतिनिधि र नागरिक समाजको सहभागिता रहेको थियो । 

कार्यक्रममा वक्ताहरूले नेपाली जनताका प्रतिनिधिले बनाएको संविधान उत्कृष्ट भए पनि कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । यस्तै सोही अवसरमा जिल्ला सदरमुकामका साथै देवालय र मन्दिर परिसर सरसफाइ गरिएको थियो ।