• ११ असोज २०८१, शुक्रबार

करार प्राध्यापकको भरमा विश्वविद्यालय

blog

बुलबुले समाचारदाता

सुर्खेत, असोज ४ गते । मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको पाइएको छ । केन्द्रीय कार्यालयमा कर्मचारीतर्फ ९७ जनाको स्थायी दरबन्दी छ तर अहिले कार्यरत विभिन्न तहका कर्मचारीको सङ्ख्या भने १३७ जना छ । त्यसमा पनि अधिकांश करार र ज्यालादारीमा नियुक्त गरिएका कर्मचारी छन् । 

मुख्य सहायक पदमा २१ जनाको स्वीकृत दरबन्दी रहेकोमा ३३ जना कार्यरत छन् । कार्यरतमध्ये २० जना मात्रै स्थायी हुन् । बाँकी १० जना करार, दुई जना मासिक ज्यालादारी र एक जना दैनिक ज्यालादारीका छन् । 

त्यसै गरी श्रेणीविहीन कर्मचारीको दरबन्दी १९ जनाको छ तर उक्त पदमा दोब्बरभन्दा बढी कार्यरत छन् । २७ जना स्थायी, १२ जना करार र १२ जना मासिक ज्यालादारीका गरेर ५१ जना कार्यरत रहेका छन् । यसबाहेक सहायक (खरिदार) पदमा २५ जना स्वीकृत दरबन्दी रहे पनि २६ जना कार्यरत छन् । अधिकृत (द्वितीय श्रेणी) को पद रिक्त छ भने अधिकृत (तृतीय श्रेणी) को स्वीकृत दरबन्दी ३१ रहेकोमा अहिले २७ जना कार्यरत रहेका छन् । जसमा २१ स्थायी, दुई जना करार र चार जना ज्यालादारीमा राखिएको हो ।

कर्मचारीतर्फ मात्रै होइन, प्राध्यापकतर्फ पनि विश्वविद्यालयमा करारको सङ्ख्या ठुलो छ । प्राध्यापकतर्फ स्वीकृत दरबन्दी १० जनाको छ । जसमा दुई जना स्थायी र दुई जना करार गरी चार जना कार्यरत छन् भने छ जनाको पद रिक्त रहेको छ । उपप्राध्यापकमा भने स्वीकृत दरबन्दीभन्दा दोब्बरले बढी छन् । विश्वविद्यालयले दिएको जानकारी अनुसार ४९ जनाको दरबन्दी रहेकोमा १६१ जना कार्यरत छन् । जसमा १२२ जना स्थायी र ३९ जना करारका हुन् । त्यसै गरी सहप्राध्यापकमा ४२ जनाको स्वीकृत दरबन्दी छ तर उक्त पदमा भने दरबन्दी अनुसार पदपूर्ति गरिएको छैन । हाल ११ जना मात्र कार्यरत छन् । ११ मध्ये एक जना करारका हुन् । शिक्षण सहायक/प्रशिक्षक पदमा ११ जना कार्यरत छन् । जसमा दुई जना स्थायी र बाँकी नौ जना करार सेवामा नियुक्त गरिएका हुन् ।

यसैबिच विश्वविद्यालयको रजिस्ट्रार पदका लागि आवेदन माग गरिएको छ । विश्वविद्यालयका रजिस्ट्रार प्राडा नारायणप्रसाद पौडेलको कार्यावधि सकिन केही दिन बाँकी रहँदा नयाँ आवेदन माग गरिएको हो । गत आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रार पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न लागिएको हो । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिनुपर्ने रजिस्ट्रार नारायणप्रसाद पौडेलले बताउनुभयो । नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले खुला दरखास्त आह्वान गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति हुने व्यवस्था अनुसार आवेदन माग गरिएको पौडेलले बताउनुभयो । उहाँले अबको १० दिनमा आफ्नो कार्यकाल सकिने र १० दिनभित्रै विश्वविद्यालयले नयाँ रजिस्ट्रार पाउने जानकारी दिनुभयो ।