• ११ असोज २०८१, शुक्रबार

अति विपन्न परिवारका लागि २० वटा घर तयार

blog

हरि कोइराला 

उर्लाबारी, असोज ३ गते । संविधान दिवसका अवसरमा मोरङको कानेपोखरी गाउँपालिकाले अति विपन्न परिवारका लागि तयार गरिएका २० वटा घरमा गृह प्रवेश कार्यक्रम गरेको छ ।

वडा २ नं. स्थित प्रधानटोलमा गाउँपालिकाकै जग्गामा निर्माण भएका घरको मोरङ –२ का प्रतिनिधिसभा सदस्य एवम् संसदमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलले उद्घाटन गर्नुभयो । विपन्नका लागि निर्माण गरिएका घरको उद्घाटन गर्दै पोख्रेलले सरकारको विपन्न लक्षित कार्यक्रम अनुसार नै घरहरू निर्माण गरिएको बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘‘सरकार जनता आवास कार्यक्रममार्फत घर विहीनका लागि घरको प्रबन्धमा जुटेको छ । यो कार्यक्रमलाई तिनै तहका सरकारले प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्छ । सभापति पोख्रेलले कानेपोखरीले यस अघि पनि अति विपन्न ५० परिवारलाई सुरक्षित आवासमा सारेको बताउँदै अब हरेक वर्ष घरको छनो चुहिने समस्या अन्त्य भएको उल्लेख गर्नुभयो । 

गाउँपालिका अध्यक्ष राजमती इङ्नामले सडक कालोपत्रे, पुल निर्माण र ठूला ठूलो भवन निर्माणलाई मात्र विकास देख्ने हाम्रो बानि परेको बताउँदै घर नभएका ब्यक्तिका लागि कालोपत्रे सडक काम नदिने उल्लेख गर्नुभयो । 

मानव संसाधन र सुरक्षित आवासका क्षेत्रमा गाउँपालिकाले विशेष महत्व दिएको बताउँदै अध्यक्ष इङ्नामले भन्नुभयो–‘‘विपन्नले सुरक्षित घरमा बस्न पाए भने उनीहरूले आफ्नो कमाई खाद्यान्न, शिक्षा र स्वास्थ्यमा लगाउन पाउने छन् ।’’ विगतको अनुभव सुनाउँदै उहाँले गाउँपालिकामा हरेक दिन घर भत्क्यो, सहयोग पाउ भन्दै निवेदन आउँथे । एकतिर टाल्यो, अर्कोतिर भत्किने त्यसैले हामीले अति विपन्न परिवारलाई सुरक्षित आवासमा सार्ने अभियान चलाएका हौं । 

कानेपोखरी गाउँपालिकाले सुरक्षित आवास कार्यक्रमका लागि गत वर्ष ५० करोड रुपियाँ विनियोजन गरेको थियो । चालु वर्ष पालिकाले एक करोड र प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । 

अति विपन्न ऋषिदेव, सन्थाल, झाँगड समुदायका मानिसलाई नयाँ घरमा सारिने कानेपोखरी ५ का वडाध्यक्ष चरण गुरुङले बताउनु भयो । 

सोही अवसरमा गाउँपालिकाले पाँचजना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा राजकुमार राई, सूर्यबहादुर धिमाल, वीरबहादुर भट्टराई, छत्रबहादुर भण्डारी र पूर्णबहादुर अधिकारी हुनुहुन्छ । 

गाउँपालिकाले यसअघि सोही स्थानमा १४ वटा घर हस्तान्तरण गरिसकेको छ । कार्यक्रम गाउँपालिकाका अध्यक्ष राजमती इङ्नामको अध्यक्षतामा भएको थियो ।