• ११ असोज २०८१, शुक्रबार

कोहलपुर बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

blog

कमल खत्री

धम्बोझी, असोज ३ गते । आउँदै गरेका चाडपर्वलाई लक्षित गरेर बाँकेको कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । 

बाँकेको कोहलपुरस्थित नयाँ बसपार्कमा दसैँ, तिहार र छठलाई लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको हो । बाँकेको कोहलपुर बसपार्क साबिकको मध्य तथा सुदूरपश्चिमका जिल्लामा जानको लागि प्रयोग गरिने बसपार्क हो । पूर्वपश्चिम राजमार्गमा पर्ने कोहलपुरमा यात्रुहरूको सुरक्षालाई ध्यानमा राखेर यात्रु सहायता कक्षाको सुरुआत गरिएको हो ।  

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बडादसैँ, दीपावली तथा छठ लगायतका चाडपर्वहरूको अवसरमा यात्रुहरूलाई पर्न जाने समस्याहरूको सहजीकरण गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले यात्रु सहायता कक्षको उद्घाटन गर्दै नागरिकलाई चाडपर्वको बेला सहयोग पुग्ने बताउनुभयो । 

यात्रु सहायता कक्ष स्थापना कार्यक्रममा यातायात व्यवसायी, स्थानीय निकाय, यात्रुहरू र सवारी चालक तथा सहचालकहरूको उपस्थिति रहेको थियो ।