• ११ असोज २०८१, शुक्रबार

दुर्घटना कम गर्न चाडपर्व लक्षित प्रहरीको कार्यक्रम

blog

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरज चन्द्र लामिछाने सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकलाई प्रतिबद्धता गराउँदै ।

राममणि दाहाल

हेटौँडा, असोज ३ गते । हेटौँडामा चाडपर्व लक्षित गरी सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले नयाँ प्रयोग थालेको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाको आयोजनामा बिहीबार हेटौँडा उपमहानगरपालिका १० स्थित बसपार्कमा भएको कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरूलाई प्रतिबद्धता गराउन थालेको हो ।

हेटौँडामा भएको कार्यक्रममा प्रदेश प्रहरी कार्यालय मातहत १० जिल्लाबाट एकैपटक चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकसँगको प्रतिबद्धता गराइएको हो । 

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरज चन्द्र लामिछानेले चालकलाई प्रतिबद्धता गराउँदै चाडपर्वको समयमा सडकमा सवारीसाधनको अधिक चाप हुने र दुर्घटनाको जोखिम बढी हुने भएकोले सवारी चालकलाई सचेतनासँगै प्रतिबद्धता गराइएको बताउनुभयो । कार्यक्रम अन्तर्गत सार्वजनिक यातायात तथा मोटरसाइकल चालक गरी ७३८ जना सवारी चालकलाई सवारी दुर्घटना न्यूनीकरणका लागि प्रतिबद्धता गराइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

ट्राफिक जरिवाना अर्थात् चिट काट्ने नगरी सवारी चालकलाई सुरक्षित यात्राका लागि सडक÷ट्राफिक नियम पालना गर्नुपर्ने बारेमा सचेत गराई सवारी दुर्घटना न्यूनीकरण गराउनु प्रतिबद्धता कार्यक्रमको उद्देश्य रहेको छ । 

कार्यक्रममा प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जन, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा, सशस्त्र प्रहरी बल नेपाल नं. ३ बाहिनी प्रमुख सशस्त्र प्रहरी नायव महापरीक्षक गणेशबहादुर ठाडा मगर, नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष हिरालाल श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।