• ११ असोज २०८१, शुक्रबार

रसियाकी एकातोरिना गण्डकीबाट खेल्दै

blog

रसियाकी एकातोरिना जुभियागिनसिभा ।

काठमाडौँ, असोज ३ गते । रसियाकी एकातोरिना जुभियागिनसिभाले गण्डकी थण्डर्सबाट वात्साल्य एभरेष्ट वुमन्स भलिबल लिग खेल्नु हुने भएको छ । 

गण्डकीले आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा एकातोरिनालाई अनुबन्ध गरेको हो । एकातोरिना रसियाको घरेलु लिगमा परिचित अनुहार हुनुहुन्छ । उहाँले रसिया तथा मङ्गोलियामा हुने घरेलु प्रतियोगिताहरू खेल्नुभएको छ । 

एकातोरिनाले नेपालमा भलिबल खेल्न आउन पाउनु आफ्नो लागि खुसीको कुरा भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘‘नेपाल जस्तो सुन्दर देशमा भलिबल खेल्न आउन पाउँदा मलाई खुसी लागेको छ, छिटै कोर्टमा भेट हुनेछ ।’’

एकातोरिनाले दुई सिजन सन् २०१७ र २०१८ मा यु–२० रसियन लिग खेल्नुभएको छ । त्यस्तै उहाँले सन् २०२३–२४ मा मंगोलियन प्रिमियर लिग पनि खेल्नुभएको थियो । 

गण्डकीले यसअघि भारतकी शिल्पा सिन्धु र रसियाकी एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो । गण्डकीले अझै एक खेलाडी अनुबन्ध गर्ने लक्ष्य बनाएको छ । 

आफ्नो तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेपछि टिमका प्रबन्धक विकास खेतानले तीन जना विदेशी खेलाडी टिममा रहँदा गण्डकी बलियो भएको बताउनुभयो ।