• ११ असोज २०८१, शुक्रबार

पलेशालाई दश लाखसहित सम्मान

blog

पलेशा गोवर्धनलाई संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा सम्मान गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, असोज ३ गते । बागमती प्रदेश सरकारले पेरिस २०२४ पारा ओलम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई सम्मान गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले कांस्य पदक विजेता तेक्वान्दोकी पलेशालाई दस लाख रुपियाँसहित प्रमाण पत्रबाट सम्मान गर्नुभएको हो । 

कार्यक्रममा नेपाली पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई दुई लाख तथा नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेश समितिका अध्यक्ष केशव पुरीलाई एक लाख रुपियाँसहित सम्मान गरिएको छ ।

यस्तै कार्यक्रममा १९ औँ एसियाली खेलकुदमा कराँतेतर्फ नेपाललाई रजत पदक दिलाउने एरिका गुरुङलाई पाँच लाख रुपियाँसहित मुख्यमन्त्री लामाले सम्मान गर्नुभएको थियो। कराँतेका पदक विजेता खेलाडी एरिका चीनमा जारी प्रतियोगितामा सहभागिताका लागि जानुभएकोले उक्त पुरस्कार उहाँका आमा रत्ना गुरुङलाई प्रदान गरिएको थियो । 

साथै कराँते प्रशिक्षक कुशल श्रेष्ठ र नेपाल कराँते महासङ्घ बागमती प्रदेशका अध्यक्ष गगन लामालाई एक–एक लाख रुपियाँसहित प्रमाणपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ र निवास गोविन्द वैद्यलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा मुख्यमन्त्री लामाले खेलकुद क्षेत्रले भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउने भएकोले खेलक्षेत्रको विकास आवश्यक भएको भन्दै प्रदेश सरकारले खेलक्षेत्रको विकासका लागि लगानी वृद्धि गर्ने प्रतिबद्धता जनाउनुभयो । 

प्रदेशको युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठ र सम्मानित खेलाडी पलेशाले खेल क्षेत्रले देशको पहिचान अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउनुभएकोले यसको विकास गर्नु आवश्यक भएको बताउनुभयो ।