अमरराज नहर्की
तनहुँ, असोज ३ गते । तनहुँ कारागारमा क्षमताभन्दा दुई गुणाभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । क्षमताभन्दा अधिक हुँदा कारागार प्रशासनलाई व्यवस्थापन गर्न समस्या भएको भने कैदीबन्दीलाई खान, सुत्न, बस्न, तथा शौचालय प्रयोग गर्न सकस भएको छ ।
जिल्ला कारागारमा तीन सय २७ कैदीबन्दी छन् । दैनिक रुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागारका प्रमुख नारायणप्रसाद अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो, "कैदीबन्दी थपिँदै गएपछि ठाउँ अभावमा खानपिन, सुत्न र शौचालयको समेत निकै समस्या छ ।"
अधिकारीका अनुसार एक सय ३५ क्षमताको कारागारमा तीन सय २७ जना कैदीबन्दी छन् । 'ए' बल्कमा एक सय ३०, बी बल्कमा एक सय ६९ जना र महिला २८ गरी तीन सय २७ जना कैदीबन्दी छन् । यसका साथै कारागारमा महिलासँग दुई जना आश्रित बालिका पनि छन् ।
एउटै कोठामा कोचिएर सुत्नुपर्ने र शौचालयका लागि पनि लाइन लाग्नुपर्ने अवस्था रहेको कारागारभित्र रहेका कैदीको गुनासो छ । एउटै कोठाभित्र धेरै कैदीबन्दी कोचेर राख्दा रोगहरूको सङ्क्रमणको खतरा बढेको कारागार प्रशासनले जनाएको छ ।