• ११ असोज २०८१, शुक्रबार

केबुलकार सम्भाव्यता अध्ययनमै अलमल

blog

फाइल तस्बिर ।

बुलबुले समाचारदाता

सुर्खेत, असोज ३ गते । मान्म–कोटबाडा केबुलकार सञ्चालन गर्ने योजना सम्भाव्यता अध्ययनमै अलमल भएको छ । केबुलकार अध्ययनको काम थालिएको लामो समय भइसक्दा पनि सम्भाव्यता अध्ययनले पूर्णता पाउन सकेको छैन । 

कालीकोटको खाँडाचक्र नगरपालिका–१, मान्म र नरहरिनाथ गाउँपालिकाको कोटबाडा जोड्ने केबुलकार निर्माणको अध्ययन थालिएको थियो । दुई हजार १५७ मिटरको दुरीमा रहने केबुलकारको सम्भाव्यता अध्ययनमै विलम्ब भएको छ । अहिलेसम्म अध्ययनको काम सकिएको छैन । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ देखि सम्भाव्यता अध्ययनको काम थालेको थियो । 

२०७८ फागुन ८ गते सम्भाव्यता अध्ययनका लागि सम्झौता गरी काम अघि बढाइएको हो । स्थानीयको  सहजताका लागि केबुलकार निर्माणको काम थालिएको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । सरकारले चालु आवमा समेत केबुलकार निर्माणको काम अघि बढाउन बजेट विनियोजन गरेको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताउनुभयो । यो वर्ष प्रदेश सरकारले १० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । उहाँका अनुसार पूर्वाधार विकास कार्यालय कालीकोटले सम्भाव्यता अध्ययनको काम थालेको हो ।

नरहरिनाथ गाउँपालिका–१ मा रहेको सुनथराली विमानस्थलसम्म पुग्न र विमानस्थलबाट सदरमुकाम मान्म पुग्न छिटोछरितो र सहज होस् भन्ने हेतुले प्रदेश सरकारले केबुलकारको अवधारणा ल्याएको हो । पूर्वाधार विकास कार्यालय कालीकोटले २०७८ फागुन ८ गते रोपवे एन्ड केबुलकार कम्पनी प्रालि ललितपुरसँग १७ लाख ३० हजार रुपियाँमा सम्भाव्यता अध्ययनका लागि सम्झौता गरेको थियो । 

२०७९ असारमा सम्भाव्यता अध्ययनको काम सक्ने गरी काम थालिएको दाबी गरिएको छ तर अहिलेसम्म पनि सम्भाव्यता अध्ययनको कामले पूर्णता पाएको छैन । सम्भाव्यता अध्ययनको प्रारम्भिक प्रतिवदेन भने कम्पनीले कार्यालयमा बुझाइसकेको छ । अहिले केही थप अध्ययनका लागि पुनः काम भइरहेको पूर्वाधार विकास कार्यालय कालीकोटले जनाएको छ । पूर्व सम्भाव्यताको अध्ययनको काम सम्पन्न गर्न नै ढिलाइ भइरहेको छ । मान्म–कोटबाडा केबुलकार बने नेपालकै प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिर जान सहज हुने भए पनि केबुलकार निर्माणमा अन्योलता छाएको छ ।

पूर्वाधार विकास कार्यालय कालीकोटका अनुसार केबुलकार निर्माणमा एक अर्ब १४ करोड चार लाख ६५ हजार ८९० रुपियाँ लागत अनुमान गरिएको छ । केबुलकार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन पनि अधुरै रहेकाले बजेट आए पनि काम सुरु हुन सकेको छैन । यसको लम्बाइ दुई हजार १४७ मिटर र उचाइ ८२९ मिटर हुने छ भने प्रतिसेकेन्ड छ मिटर हिँड्ने र एक पटकमा १५ जना आउन/जान पाउने छन् । यस्तै एक ठाउँबाट अर्को ठाउँमा जान छ मिनेट लाग्ने छ । 

प्रदेश सरकारको हचुवाको निर्णय

कर्णाली प्रदेश सरकारको हचुवाको निर्णयले कार्यक्रम कार्यान्वयनमा समस्या हुने गरेको छ । कोटबाडा विमानस्थललाई त्यसको उदाहरणका रूपमा लिन सकिन्छ । प्रदेश सरकारको सुरुको कार्यकालबाट केबुलकार निर्माणको चर्चा चले पनि चार वटा सरकार परिवर्तन भइसक्दासमेत सम्भाव्यता अध्यनको काम पनि सकिएको छैन । २०६४ सालदेखि केबुलकारको कुरा उठेको थियो तर सम्भाव्यता अध्ययन गर्न लामो समय लागेको स्थानीयले बताएका छन् । मान्म–कोटबाडा केबुलकार निर्माणपछि पर्यटन प्रवर्धनका साथै आवतजावत गर्न सहज हुने आम अपेक्षा रहेको छ । अहिले मान्मदेखि कोटबाडा जान गाडीमा तीन घण्टा र पैदल जाँदा छ घण्टा लाग्ने गरेको छ । नरहरिनाथको कोटबाडामा सुनथराली विमानस्थल निर्माण गरिएको छ । केबुलकार तयार भए मात्र आवतजावतमा सहजता हुने स्थानीयले बताएका छन् ।