• ११ असोज २०८१, शुक्रबार

पाएन माडी चक्रपथले पूर्णता

blog

तानसेन समाचारदाता

तानसेन, असोज ३ गते । एक दशक बितिसक्दा पनि माडी चक्रपथले पूर्णता पाएको छैन । पाल्पाको माडी क्षेत्रको तानसेन, बगनासकाली, रम्भा र माथागढी गाउँपालिकाका विभिन्न वडा जोड्ने गरी माडी चक्रपथ निर्माण सुरु गरिए पनि त्यसले पूर्णता पाउन नसकेको हो । 

२०६९ सालमा तत्कालीन मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले अघि सारेको माडी चक्रपथको काम अलपत्र बनेको हो । चक्रपथ निर्माण गर्ने ठेकेदारको लापर्बाही र सम्बन्धित कार्यालयको लापर्बाहीले चक्रपथ एक दशकमा पनि पूरा हुन नसकेको हो । चक्रपथको काम २०७१ सालदेखि सुरु गरिएको थियो । 

चार पालिकाको सात किलोमिटर सडक निर्माण गर्ने गरी चक्रपथको योजना अघि बढेको थियो । पाल्पाको अन्नभण्डारका रूपमा रहेको माडी क्षेत्रको वरपर सडक विस्तार गरेर बस्ती निर्माण गर्ने र धान खेत जोगाउने योजना थियो । यस्तै सडक निर्माणसँगै बस्ती विकास गरेर बसाइँसराइ रोक्ने योजनाका रूपमा लिइए पनि चक्रपथले गति लिन नसकेको तानसेन–९ का वडाध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । नौ वर्षअघि कोशी एन्ड न्यौपाने ओम साइ कन्स्ट्रक्सन प्रालिले छ करोड दुई लाखमा ठेक्का लिएर काम सुरु गरेको थियो तर उक्त ठेकेदारले कामै नगरेपछि कार्बाही गरिएको थियो । माडी चक्रपथको दुई/तीन किलोमिटर सडक विस्तार, नाली निर्माण र ग्राभेल गर्ने काम भए पनि थप काम अगाडि बढ्न नसकेको वडाध्यक्ष अर्यालले बताउनुभयो । सङ्घीय सरकार अन्तर्गत रहँदासम्म सडक निर्माणले प्राथमिकता पाए पनि पछिल्लो समय सडकको काम हुनै नसकेको स्थानीयको भनाइ छ । 

केही वर्षअघि यस भेगका स्थानीय बासिन्दाले चक्रपथ क्षेत्रमा ११ मिटर चौडा सडक बनाउन जग्गा दिएका थिए । त्यसपछि डोजरले सडक फराकिलो पारेपछि काम हुन नसकेको माथागढी–१, चिदिपानीका शिवप्रसाद घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “माडी चक्रपथ बनाउन भनेर एक दशकअघि जग्गा दिइयो तर सडक खनेर अझै पूरा भएको छैन ।” यो वर्ष उक्त क्षेत्रको सडक निर्माणका लागि एक करोड ६२ लाख रुपियाँ विनियोजन भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । कार्यालय प्रमुख रामपुकार जैसवालले स्थलगत निरीक्षण गरेपछि चक्रपथ निर्माणको कामलाई अगाडि बढाइने जानकारी दिनुभयो । सडक निर्माण नहुँदा यस भेगका सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । एक दशकसम्म सडक निर्माण नहुँदा सर्वसाधारण निराश बनेको माथागढी–१ का वडाध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । जिल्लाकै गौरवको योजना भए पनि चक्रपथ निर्माणले प्राथमिकता नपाउँदा सर्वसाधारणले यात्रा गर्न दुःख बेहोर्नु परेको उहाँले बताउनुभयो ।