• ११ असोज २०८१, शुक्रबार

दसैँको सँघारमा चल्न सकेन बस

blog

लखन्देही खोला तर्दै नारायणखोलावासी । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, असोज ३ गते । दसैँ सँघारमै आउँदासमेत बस सञ्चालन हुन नसक्दा सर्लाहीको चुरे भेगका स्थानीय बासिन्दा निराश छन् । अझै वर्षा नरोकिँदा चुरे भेगमा खोला बगरबाट बस गुड्न अझै सकेका छैनन् । बस नचल्दा यस भेगका बासिन्दाले दसैँका लागि पनि थाप्लोमा नै बोकेरै खाद्यान्नलगायतका सामग्री गाउँमा पु-याउनुपर्ने बाध्यता रहेको लालबन्दी नगरपालिका–१४, नारायणखोलाका युवा रोशन दोङले बताउनुभयो । 

दोङका अनुसार चुरे भेगमा अहिले पनि दिनहुँ जसो खोलामा बाढी आइरहेको छ । सडक नपुगेको जिल्लाको उत्तरवर्ती चुरे भेगमा बाँके, कालिञ्जोर, फूलजोर, लखन्देही र डाइनीखोला भएर बस चल्ने गर्थे । अहिले त्यो पनि चल्न सकिरहेको छैन । 

लालबन्दी बजारबाट ती खोला भएर पिपलदमार, शिर कालिञ्जोर, भित्रीखोला र नारायणखोलातर्फ जाने बस सिन्धुलीको मरिणसम्म नै पुग्ने गरेका छन् । तुलनात्मक रूपमा बढी वर्षा भएकाले यो वर्ष चुरे भेगसम्म जाने खोलामा निरन्तर बाढी आउँदा यातायात व्यवसायीले खोलाको बाटो मर्मत गर्न सकेका छैनन् । 

असारदेखि नै बस थन्क्याएर राखेका व्यवसायीसमेत राम्रो आम्दानी हुने दसैँमा नै बस चलाउन नपाइने हो कि भन्ने चिन्तामा छन् । बस व्यवसायी एवं लालबन्दी नगरपालिका–१४ का वडाध्यक्ष छेनामसिंह घिसिङले यो वर्ष असोज लाग्दासम्म वर्षा नरोकिएकाले दसैँमा बस सञ्चालन हुने÷नहुने अन्योल रहिरहेको बताउनुभयो । 

उहाँले वर्षा रोकिएपछि पनि केही दिन खोलाको बाटो मर्मत गर्नै समय लाग्ने बताउनुभएको छ । पानी परेर चुरेका डाँडापाखाबाट तल खोलासम्म झर्ने गोरेटो बाटो पनि वर्षाले क्षति पु¥याएको स्थानीयले बताएका छन् । 

लालबन्दी नगरपालिका–१२, भालुखोपका दीपक मगरले जियाजोर फेदीबाट माथि गाउँसम्म आउने कच्ची सडक पानीले बगाएर खराब बनाएको बताउनुभयो । उहाँले तत्काल यो सडकमा मोटरसाइकल पनि सञ्चालन नहुने अवस्था रहेको जानकारी दिनुभयो । 

सर्लाहीको उत्तरी चुरे भेगका बासिन्दाको मुख्य बजार लालबन्दी हो । दसैँको मुखमा चुरे भेगका बासिन्दा बजार आउन नसक्दा बजारका व्यवसायी पनि चिन्तित देखिन्छन् । 

लालबन्दी बजारका कपडा व्यापारी शिवजी साह माथितिर (चुरे भेग) बाट पैदल हिँडेर फाट्टफुट्ट आइरहेका स्थानीयले खोलाबाट गाडी नचल्दा गाउँका अधिकांश बजार झर्न नपाएको गुनासो गर्ने गरेका बताउनुभयो । उहाँले आफूहरूको प्रमुख ग्राहक नै चुरे भेगका स्थानीय रहेका बताउनुभयो । 

खोलाबाट बस चले भने चुरे भेगका स्थानीयले आफूले पालेका खसीबोका र बारीमा उत्पादन भएको मकै, कोदो, तामालगायतका कृषि उत्पादन बिव्रmी गरेर दसैँखर्च जुटाउँछन् । सिन्धुलीसँग सीमा जोडिएको सर्लाहीको चुरे भेगका बस्तीबाट तल चुरे फेदीसम्म आइपुग्न तीन घण्टाभन्दा बढी समय पैदल हिँड्नुपर्ने ठाउँ पनि छन् । 

ईश्वरपुर नगरपालिका–१२ का वडाध्यक्ष देवीबहादुर खत्रीले आफ्नो वडाको चुरे भेगमा पर्ने पिपलदमार, फूलजोर शिर, बाँके शिर, गुइडुङ, लामीदमारलगायत क्षेत्रका स्थानीयलाई खोलामा बाढी आइरहँदा वडा कार्यालय र बजारसम्म आउनका लागि चुरे फेदीसम्म आउन पनि मुस्किल परेको बताउनुभयो । उहाँले पानी परिरहेका कारण तलबाट आक्कलझुक्कल जाने मोटरसाइकल र ट्याक्टर पनि खोलामै फस्दा स्थानीयले सास्ती बेहोर्नु परेको जानकारी दिनुभयो ।