• ११ असोज २०८१, शुक्रबार

तिस वर्षसम्म गाउँ छोएन बाटोले

blog

सडक अनुगमन गर्नुहुँदै जिल्ला समन्वय समिति प्रमुख र बैतडीका प्रमुख जिल्ला अधिकारी ।

बैतडी समाचारदाता 

बैतडी, असोज २ गते । नेपालको हवाई क्षेत्रमा ३० वर्ष सेवा निवृत्त हुनुभएका हवाईजहाजका इन्जिनियर ८६ वर्षीय नयनसिंह जन्मेकोे बैतडीको च्वाँगढमा अहिलेसम्म मोटर चल्ने बाटो छैन । सडक नहुँदा यहाँका स्थानीयवासी आफ्नै जिल्ला सदरमुकाम पुग्न पैदल बाटो हिँडेर बझाङको देउरा र डडेलधुराको नवदुर्गा गाउँपालिका फन्को मारेर आवतजावत गर्न बाध्य छन् ।   

भूगोलका हिसाबले बैतडीका १० वटा स्थानीय तहमध्ये सबैभन्दा ठुलो भूगोल भएको च्वाँगढ क्षेत्रको सिगास गाउँपालिका अहिलेसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सडक नहुँदा गाउँपालिकाको ३, ४ र ५ नम्बर वडाका स्थानीय डडेलधुरा भएर बैतडी सदरमुकाम धाउँदै आएका छन् भने ६, ७ र ८ नम्बर वडाका स्थानीय चार घण्टा पैदल हिँडेर बझाङको देउरा घुमेर बल्ल जिल्ला सदरमुकाम पुग्ने गरेका छन् ।  

आजभन्दा ७० वर्षअघि च्वाँगढको सिगासबाट अध्ययनका लागि पैदल हिँडेर भारतको उत्तराखण्ड राज्य पुग्दाको अनुभव सुनाउनु हुँदै हवाईजहाजका इन्जिनियर नयन सिंहले दुर्गम गाउँमा राज्यको आँखा पुग्न नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “७० वर्षअघिका ती दिन निकै सङ्घर्षपूर्ण थिए । गाउँमा सडक थिएन । आज पनि छैन । अध्ययन गर्न जाँदा भरिया जस्ता भएर हामी खाद्यान्न बोकेर भारतको पिथौरागढ जान्थ्यौँ ।”

गाउँपालिकामा अहिलेसम्म एउटा पनि प्राविधिक शिक्षाको पढाइ हुने शैक्षिक संस्था खुल्न सकेको छैन । प्राविधिक विषयको अध्ययन गर्न सिगास गाउँपालिकाका विद्यार्थी अहिले पनि सातुसामल बोकेर चार घण्टादेखि एक दिनको पैदल बाटो हिँडेर सदरमुकामस्थित वीरेन्द्र मावि धाउन बाध्यता छन् । सिगासबाट हिँडेर बझाङको देउराबाट धनगढी जाने बसमा यात्रा गरेपछि बैतडीको पाटन नगरपालिका–८, खोड्पे  पुगिन्छ । त्यहाँबाट अर्को जिप चढेर बल्ल सदरमुकाम पुग्ने गरेको स्थानीय धनश्याम धामीले बताउनुभयो । गाउँका विद्यार्थी कम्प्युटर, कृषि प्राविधिक र सिभिलतर्फको ओभरसियरलगायत प्राविधिक विषयको पढाइ गर्न जिल्ला सदरमुकाम वा नेपालका अन्य सहर धाउने गरेका छन् । 

तिस वर्षमा नौ किलोमिटर कच्ची सडक 

आजभन्दा करिब ३० वर्षअघि च्वाँगढको सिगास गाउँपालिकामा सडक पु¥याउन तत्कालीन जिल्ला विकास समितिले २०५२ मङ्सिर २८ गते उद्घाटन गरेको सडक सिगास गाउँपालिका–२ भन्दाअघि बढ्न सकेको छैन । बैतडी–बझाङ जाने जयपृथ्वी राजमार्गको दुदिलाखानबाट अघि बढेको गाँजरी– थलाकाँडा–ढुङ्गाढ सडकखण्डको ५० किलोमिटरमध्ये हाल गाँजरीसम्म नौ किलोमिटर मात्रै कच्ची सडक खनिएको छ ।

गाउँपालिका केन्द्र गर्जेसम्म सडक जोड्न स्थानीय तहले डडेलधुराको नवदुर्गा गाउँपालिकाको ठाँटाबाट अघि बढेको सिन्याखेत–गर्जे सडक पहिरोले ­बगाएपछि यातायात चल्दैन । यहाँका स्थानीय पैदलबाटो हिँडेर दैनिक उपभोग्य वस्तु ढुवानी गर्न बाध्य छन् । गाउँपालिकाका उपाध्यक्ष धाना धामीका अनुसार च्वाँगढको पुरानो सदरमुकाम गाँजरी बजारबाट एक दिनको पैदल दुरी हिँडेर थलाकाँडा र ढुङ्गाढ पुग्नुपर्ने बाध्यता रहेको छ । सडक नहुँदा गाउँपालिकाका ३, ४, ५, ६, ७, ८ र ९ नम्बरका स्थानीय सामाजिक सुरक्षा भत्ता लिन एक दिन पैदल हिँडेर गाँजरीमा रहेको कृषि विकास बैङ्क पुग्ने गरेका छन् । 

जिल्लाका अन्य गाउँपालिका सडक सञ्जालसित जोडिए पनि सिगास गाउँपालिका अझै सडक सञ्जालसित जोडिन नसकेको उपाध्यक्ष धामीले बताउनुभयो । दुदिलाखान–गाँजरी–थलाकाँडा सडकसँगै सुरु भएका बैतडीको पाटन–पञ्चेश्वर सडक, सिल्लेगाडा सडक कालोपत्रे भइसके पनि च्वाँगढको गाँजरी सडक अलपत्र परेको स्थानीयको गुनासो छ । प्रदेश सरकारले गाँजरीबाट घौलाडीसम्म ट्र्याक खोले पनि गाउँपालिका केन्द्र गर्जेसम्म सडक नहुँदा यहाँ  सिगास गाउँपालिका–१ र २ का स्थानीय एकदिनको पैदल बाटो हिँड्न बाध्य छन् । सिगास गाउँपालिका–१, बिन्द्रावन, जुकेपानी, बेसरा, इराना, माडौँ सडकको अवस्था पनि उस्तै रहेको उहाँले बताउनुभयो । 

सुत्केरीलाई हवाई उद्धार 

गाउँपालिकामा एम्बुलेन्स चल्ने सडक सुविधा नहुँदा सिगास गाउँपालिकाका अधिकांश सुत्केरीको हवाई उद्धार गरि प्रसूति गराउँदै आइएको छ । गत वर्ष सिगास गाउँपालिका–६, थलाकाँडा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेकी २० वर्षीय  विन्दु धामीलाई हवाई उद्धार गरेर कर्णाली प्रदेशको सुर्खेतस्थित प्रादेशिक अस्पताल लगिएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ज्यान जोखिममा परेका गर्भवती महिलाको हवाई उद्धार कार्यक्रमले सुत्केरीको ज्यान जोगिए पनि शिशुको मृत्यु भएको छ । 

कर्णालीपछि सुत्केरीको हवाई उद्धार हुने सुगम जिल्ला बैतडीको एक मात्रै दुर्गम सिगास गाउँपालिका हो । सडक यातायातको पहँुच नहुँदा यहाँ सुत्केरीबाहेकका बिरामीले अकालै ज्यान गुमाउने गरेका छन् । यसअघि च्वाँगढबाट एक सुत्केरी महिलाको हवाई उद्धार गरेर नेपालगन्ज लगिएको सिगास गाउँपालिकाकी उपाध्यक्ष धाना धामीले बताउनुभयो । 

सिगास गाउँपालिकाका विभिन्न सडक अनुगमन गर्दा उपभोक्तामार्फत निर्माण गरिएका सडक मापदण्ड अनुसार नभएको जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले बताउनुभयो । सङ्घ र प्रदेश सरकारले पर्याप्त बजेट विनियोजित गरेर ठेक्कामार्फत काम गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।