संसारभर गिद्धका २३ प्रजाति छन् । तीमध्ये नेपालमा हाडफोर, सेतो, डङ्गर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी नौ प्रजातिका गिद्ध पाइन्छ । ती गिद्धमध्ये डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र लामो ठुँडे गिद्ध अति सङ्कटापन्न, सेतो गिद्ध सङ्कटापन्न, हिमाली र हाडफोर गिद्ध सङ्कटको नजिक रहेका छन् । खैरो गिद्ध भने सामान्य अवस्थामा छन् ।
सन् १९९० को दशकमा नेपालमा करिब १० देखि १६ लाख गिद्ध रहेको अनुमान थियो । सन् २००२ मा नेपालमा गिद्धको सङ्ख्या २० हजारभन्दा कममा सीमित हुन पुगे । नेपाल पन्छी संरक्षण सङ्घको तथ्याङ्क अनुसार नेपालमा पनि सन् २००२ देखि २०१० सम्मको राजमार्ग ट्रान्सेक्ट सर्भेबाट डङ्गर गिद्ध ९१ प्रतिशतले घटेको पाइएको थियो । जसका कारण सानो खैरो, डङ्गर, लामो ठुँडे र सुन गिद्ध अति सङ्कटापन्न र सेतो गिद्ध सङ्कटापन्न अवस्थाको सूचीमा रहेका छन् ।
भारतमा सन् १९९२ देखि २००७ सम्म डङ्गर गिद्ध ९९.७ प्रतिशत र सानो खैरो ९८ प्रतिशतले घटेको विभिन्न अध्ययनले देखाएको छ । त्यो समयमा भारतमा चार करोड गिद्ध रहेको अनुमान थियो । गिद्धहरू ठुलो सङ्ख्यामा एकाएक मर्न थालेपछि विश्वको चासोका विषय बन्दै गएको थियो । सन् २००० को आसपासमा आउँदा गिद्धको सङ्ख्यामा ९० प्रतिशत घटेको थियो । पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनिक औषधीयुक्त आहार खानाले गिद्धको सङ्ख्यामा गिरावट आएको थियो ।
गिद्धको सङ्ख्या बढ्दो
सन् २०१२ देखि २०१७ सम्मको अध्ययनमा भने नेपालमा गिद्धलाई सुरक्षित ठानिएको मेलोक्सिक्यामको पशु उपचारमा प्रयोग करिब ९० प्रतिशत पाइयो भने हानिकारक डाइक्लोफेनिकको प्रयोग शून्य रह्यो । डाइक्लोफेनिकको प्रयोग बन्द भएपछि यसको प्रभाव गिद्धको सङ्ख्यामा पनि देखियो । सन् २००२ देखि २०११ सम्म ९० प्रतिशतभन्दा बढीले घटेको लोपोन्मुख डङ्गर गिद्ध र सानो खैरो गिद्धको सङ्ख्या बढ्दै गयो । राजमार्ग ट्रान्सेक्ट सर्र्भेका अनुसार सन् २०१२ र २०१३ बाट सन् २०१८ सम्म सामान्य रूपले बढेको थियो । २०१९ देखि हालसम्म नेपालमा गिद्धको सङ्ख्या उत्साहजनक रूपले बढ्न थालेको नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) का गिद्ध संरक्षण कार्यक्रमका म्यानेजर अङ्कित विलास जोशीले बताउनुभयो ।
यी अवधिमा गिद्धको गुँड सङ्ख्यामा समेत बढ्दै गएको छ । “बिसिएनले तराईका १२ जिल्लामा हरेक वर्ष गिद्धले गुँड लगाएका स्थानको अनुगमन गर्छ । पछिल्लो तीन वर्षमा एक हजार ७१० गुँडको अनुगमन गरिएको थियो । जसमध्ये एक हजार १८२ ले बचेरा उडाउन सफल भएका थिए । पछिल्ला तीन वर्षमा ६९ प्रतिशतले गिद्धको सङ्ख्या वृद्धि हुन सफल भएको छ । गिद्ध संरक्षणमा बाघ जस्तै नेपाल अब्बल छ तर बाघको जति चर्चा छैन । अन्य देशले गिद्धको सङ्ख्या बढाउन प्रयासरत रहँदा नेपालले वृद्धि गर्न सफल देखिएको छ,” जोशीले भन्नुभयो ।
विश्व वन्यजन्तु कोषले पाकिस्तानमा गिद्ध सङ्ख्या घट्दै गएको पाकिस्तान च्याप्टरको वेबसाइटमा उल्लेख गरेको छ । स्टेटवर्ड अफ इन्डियाले प्रकाशन गरेको ग्राफ अनुसार भारतमा खानो खैरे गिद्ध र डङ्गर गिद्धको सङ्ख्या बढ्न सकेको छैन । त्यहाँ २०१६ सम्म घद्दै गएको गिद्धको सङ्ख्या हाल स्थिर रहँदै आएको छ ।
नेपालको संरक्षण उत्कृष्ट
गिद्ध संरक्षणका प्रयासमा विश्वभरमा केही उदाहरणीय मान्यताप्राप्त गरेका छन् । सबैभन्दा चर्चा नेपाली नमुनालाई लिइन्छ । जसले गिद्धहरूको सङ्ख्यालाई पुनस्र्थापना गर्न र तिनीहरूको वासस्थानलाई सुरक्षित गर्न महत्वपूर्ण योगदान पु¥याएको छ । अन्य देशमा उल्लेखनीय प्रगति गर्न नसक्दा नेपाली अभ्यासले संरक्षणमा उल्लेखनीय योगदान गरेको विज्ञहरू बताउँछन् । नेपालमा डाइक्लोफेनिक प्रयोग घटाउने, जटायु रेस्टुरेन्टको अवधारणा, प्रजनन तथा पुनस्र्थापना केन्द्र सञ्चालन, संरक्षणमा समुदायको सहभागिता र जनचेतनाका कार्यक्रम र सामुदायिक वनले गिद्ध संरक्षणमा कोसेढुङ्गा साबित भएको गिद्ध संरक्षणकर्मी भूपाल नेपाली बताउनुहुन्छ ।
गिद्ध सुरक्षित क्षेत्र
‘सेभिङ एसियाज भल्चर्स फ्रम एक्स्टिन्सन’ (सेभ) ले एसियाली गिद्ध लोप हुनबाट बचाउको ११ औँ बैठकले विश्वकै पहिलो गिद्धका लागि सुरक्षित क्षेत्र (सेफ जोन) घोषणा ग¥यो । यो नेपालका लागि सबैभन्दा ठुलो उपलब्धि थियो । गण्डकी र लुम्बिनी प्रदेशमा सात हजार २७८ वर्ग किलोमिटर क्षेत्रफललाई सुरक्षित क्षेत्र तोकिएको छ । यस क्षेत्रमा गिद्धको घना वासस्थान, सुरक्षित आहार केन्द्र (जटायु रेस्टुरेन्ट) र विचरण क्षेत्र रहेका छन् ।
नेपालमा गिद्धको सर्भाइवल रेट (जीवित रहने दर) अत्यधिक उच्च पाइयो । वयस्क ९७ प्रतिशत र उपवयस्क ८८ प्रतिशत सर्भाइवल रेट रहेको छ । पछिल्लो समयमा विषाक्तताबाट गिद्धको मृत्यु नभएको र गिद्धहरूका लागि नेपालको यो क्षेत्र सुरक्षित रहेको पुष्टि भएको छ । जिपिएस टेलिमेट्री उपकरण प्रयोग गरी ५० जङ्गली र ४९ कैद प्रजनन कार्यक्रमबाट छोडिएका गिद्धहरूको भूक्षेत्र र वार्षिक जीवित रहने दरको तुलनात्मक अध्ययन गरिएको थियो । अध्ययनले गिद्धको सर्भाइवल रेट उच्च र मृत्यु हुने सङ्ख्या कम भएको देखिएपछि सेफ जोन घोषणा गरेको गिद्ध अनुसन्धानकर्ता कृष्ण भुसाल बताउनुहुन्छ ।
संरक्षणकर्मी उत्साहित
नेपालमा पहिलो पटक गिद्ध संरक्षण कार्ययोजना, २००९–२०१३ निर्माण गरी कार्यान्वयनमा ल्याइएको थियो । पञ्चवर्षीय कार्ययोजना अनुरूप नै सन् २०१० मा सबै जिल्लालाई डाइक्लोफेनिकमुक्त घोषणा गर्ने अभियान दाङबाट सुरु भयो । समुदायमा सचेतना फैलाउन सकेपछि नेपालका सबै जिल्ला डाइक्लोफेनिकमुक्त घोषणा भएको छ । अहिले गिद्ध संरक्षण कार्ययोजना, २०२३–२०२८ कार्यान्वयन भएको छ । कार्ययोजनाले गिद्धको सुरक्षित आहारा, स्थानीय सरकारसँग सहकार्य, गिद्ध संरक्षणमा देखिएका समस्या र चुनौती, गिद्धको सङ्ख्या वृद्धिलगायतका विषयमा केन्द्रित रहेको विज्ञहरू बताउनुहुन्छ ।
अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस
गिद्ध संरक्षणका कार्यलाई थप प्रभावकारी, सचेतना प्रवाह र आमसरोकारको विषय बनाउने उद्देश्यले नै सेप्टेम्बरको पहिलो शनिबारदेखि एक सातासम्म अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइने गरिन्छ । यो वर्ष भदौ २२ गतेदेखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा गिद्धको महत्व, लोप हुनुका कारण र संरक्षणको विषयमा जनचेतना, सचेतनामूलक ¥याली, क्याम्पस तथा विद्यालयस्तरीय संरक्षण शिक्षामूलक प्रतियोगिता, गिद्ध तस्बिर तथा चित्रकला प्रदर्शनी, गिद्ध महोत्सव, सडक नाटक, अन्तर्क्रिया तथा रेडियो कार्यक्रम गरी मनाइँदै छ भने देशव्यापी गिद्ध गणना पनि गरिएको छ ।