• ८ असार २०८२, आइतबार

पर्वतमा ७० प्रतिशत बिरामीमा डेंगु सङ्क्रमण

blog

गणेश पौडेल

पर्वत, भदौ २८ गते । गत साउन पहिलो सातादेखि पर्वतमा देखिएको डेंगु सङ्क्रमणबाट हालसम्म झण्डै छ सयभन्दा बढी सङ्क्रमित भएका छन् । पर्वत जिल्ला अस्पतालका अनुसार बिहिबार रातीसम्म ५ सय ९७ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो ।

‘अस्पतालको सम्पर्कमा पुगेकाहरुको रेकर्डका आधारमा मात्रै यो संख्या निकालिएको हो,’ पर्वत जिल्ला अस्पतालका प्रमुख डा. हेमन्त बास्तोलाले भन्नुभयो, ‘अस्पताल नपुगेका, नीजि अस्पताल र क्लिनिकमा गएकाहरुको सङ्ख्या यसको दोब्बर हुनसक्ने देखिन्छ ।’ 

अहिले ७० प्रतिशत ज्वरोका बिरामीमा डेंगु देखिएको उहाँको भनाइ छ । ‘५० जनाको परिक्षणमा ३५ जनामा डेंगी पोजेटिभ देखियो,’ उहाँले भन्नुभयो, ‘अहिले समुदायस्तरमा देखिएकाले सचेतता अपनाउन जरुरी छ ।’ 

गत वर्षको वर्षायाम र गर्मी समयमा जिल्लाका कुल दुई सय २५ जनामा सङ्क्रमण भएकोमा यस वर्ष झनै भयावह भएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले बताउनुभयो । उहाँका अनुसार जोखिमको समय अझै करिब एक महिना हुने भएकाले यो सङ्ख्या अझै बढेर जानसक्छ । अहिले विशेषगरी कुश्मा नगरपालिकामा बिरामी दर उच्च रहेको उहाँले बताउनुभयो ।

ङ्क्रमितमध्ये ३१७ जना महिला र २८० जना पुरुष छन् । उहाँका अनुसार गत वर्षको तुलनामा यस वर्ष एक सय ६२ प्रतिशतले सङ्क्रमितहरुको सङ्ख्या बढेको छ । भदौका केही दिन र असोज महिनामा पनि डेंगु सार्ने लामखुट्टे ‘एडीज इजीप्टाई’ जातको पोथी लामखुट्टेको प्रजनन कायमै रहने भएकोले जिल्लामा सङ्क्रमितहरुको सङ्ख्या अझै बढ्ने क्रममा रहेको उहाँको भनाइ छ ।

जिल्लाका सात वटा स्थानीय तहमध्ये सबैभन्दा बढी प्रभावित कुश्मा नगरपालिका छ । कुल सङ्क्रमितमध्येका ८३ प्रतिशत अर्थात् चार सय ९२ जना रहेका छन् । यस्तै मोदी गाउँपालिकाका १७ जना, जलजला गाउँपालिकाका नौ जना, फलेवास नगरपालिकाका ३५ जना, महाशिला गाउँपालिकाका दुई जना, बिहादी गाउँपालिकाका चार जना, पैयुँ गाउँपालिकाका छ जना र अन्य जिल्लाका २५ जना छन् ।

घर आसपासमा रहेको फोहर, झाडी, नहल्लिने गरेर जमेको पानीलगायतका कारण लामखुट्टेले फुल पारेर बच्चा संख्या वृद्धि हुने लामखुट्टेको टोकाइ बढ्दा डेंगुको जोखिम पनि झन् झन् बढ्दै जाने भएकोले सचेत हुन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । 

लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडा लामखुट्टे नछिर्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप बाल्ने र मलम लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउनुपर्ने चिकित्सकहरूको सुझाव छ । 

उच्च ज्वरो आउने, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्ने, शरीरमा राता बिमिरा आउने, वाकवाकी लाग्ने वा बान्ता हुनेलगायतका लक्षण देखिए डेंगु भएको हुन सक्ने भएकाले समयमै स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी हुने भएकाले दिउँसोभन्दा बिहान र साँझको समयमा झनै सचेत हुनुपर्ने चिकित्सकहरूको सुझाव छ ।