• ११ असोज २०८१, शुक्रबार

सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई प्राथमिकता

blog

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा आइजिसी बिजनेस होल्डिङ नेपाल र केइरिङ्कन कम्पनी लिमिटेड, जापानबिच प्रत्यक्ष वैदेशिक लगानीअन्तर्गत सम्झौता कार्यक्रममा सहभागीहरु । तस्बिरः राजेन्द्र विष्ट/रासस

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २८ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । 

आइजिसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबिच सूचना प्रविधि (आइटी) क्षेत्रमा संयुक्त लगानीका लागि बिहीबार आयोजित सम्झौता कार्यक्रममा मन्त्री भण्डारीले यस क्षेत्रमा लगानी भित्र्याउन आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको र लगानीकर्ताका लागि सकारात्मक वातावरण सिर्जना गर्न सरकार पनि तयार रहेको बताउनुभयो । मन्त्री भण्डारीले वैदेशिक लगानीकर्तालाई प्रोत्साहन गर्दै सूचना प्रविधि क्षेत्रलाई प्रगति गराउन नेपाल सरकार तयार रहेको कुरामा जोड दिनुभयो । उहाँले यो सम्झौताले दुई राष्ट्रबिचको प्रविधि सम्बन्धमा नयाँ युगको सुरुवातको सङ्केत गरेको उल्लेख गर्नुभयो ।

यो नयाँ सूचना र प्रविधि उद्यमको स्थापनाका लागि व्यापार सम्झौतामा हस्ताक्षर मात्र होइन, नेपाल र जापानबिच पुलको काम भइरहेको उहाँले बताउनुभयो । प्रत्यक्ष वैदेशिक लगानीले आर्थिक वृद्धि, रोजगारी सिर्जना र प्रविधि तथा ज्ञानको हस्तान्तरणमा सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले द्रुत गतिमा अन्तर्राष्ट्रिय लगानी र नवप्रवर्तनका लागि अनुकूल वातावरण सिर्जना गर्ने नेपालको साझेदारी प्रतिबद्धतालाई मूर्त रूप दिने कुरामा विश्वस्त रहेको बताउनुभयो । 

आइजिसी बिजनेस होल्डिङका अध्यक्ष गणेशमान लामा र केइरिनकन कम्पनी लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यक्रम अधिकृत (सिइओ) सतोती सातोले औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गर्नुभयो । दुवै पक्षले नेपाललाई डिजिटल रूपान्तरणको मार्गमा अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आइजिसीका अध्यक्ष लामाले यो कार्यक्रम केवल सम्झौतापत्रमा हस्ताक्षरको मात्र नभई नेपाल र जापानबिच सहकार्य, विकास तथा साझा दृष्टिकोणको यात्रा भएको बताउनुभयो । उहाँले सूचना प्रविधि क्षेत्रमा यो प्रतिबद्धताले नेपाललाई डिजिटल रूपान्तरण र प्राविधिक नवप्रवर्तनतर्फ लैजाने काममा सहयोग पु¥याउने बताउनुभयो ।

सो अवसरमा केइरिनकनका अध्यक्ष तथा सिइओ सतोसी सातोले पनि यस संयुक्त लगानीप्रति आफ्नो उत्साह प्रकट गर्दै यो सहकार्यले व्यापारिक सम्बन्धलाई मात्रै नभई नेपाल र जापानबिचको गहिरो द्विपक्षीय सम्बन्धलाई पनि मजबुत बनाउने बताउनुभयो । उहाँले यस साझेदारीको माध्यमबाट नेपालमा आफ्नो व्यवसाय विस्तार गर्ने इच्छा व्यक्त गर्नुभयो ।