• २५ पुस २०८१, बिहिबार

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

blog

मध्यपश्चिम विश्वविद्यालय सुर्खेत ।

नविन सुवेदी
सुर्खेत, भदौ २७ गते । 
मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा ६ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले भदौ २८ गते शुक्रबार हुन लागेको निर्वाचन प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो ।

अदालतको आदेशसँगै निर्वाचनका सबै प्रक्रिया रद्द भएका छन् । बुधबार मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीअन्तर्गत बीएससी बायोलोजी समूह पाँचौँ सेमेष्टरमा अध्ययनरत रञ्जित विकसहितका विद्यार्थीले उच्चमा रिट निवेदन दर्ता गराएका थिए ।

स्ववियु निर्वाचनका लागि प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम छुटाएको भन्दै उनीहरू उच्च अदालत पुगेका थिए । रिटउपर सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको एकल इजलासले तत्काल स्ववियुको निर्वाचन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उच्चको अन्तरिम आदेशमा दुवै पक्षलाई असोज ६ गते छलफलमा झिकाउन भनिएको छ । यता सम्पूर्ण तयारी पूरा भएको अन्तिम समय निर्वाचन स्थगित भएपछि विद्यार्थीहरू निराश भएका छन् ।