• २६ पुस २०८१, शुक्रबार

लुम्बिनीको कालीदह नाकामा एकीकृत जाँच बिन्दु सञ्चालनमा

blog

श्याम शंकर पाण्डे

लुम्बिनी, भदौ २६ गते । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित कालीदह नाकामा सवारीसहित नेपाल भित्रिने पर्यटक लक्षित एकीकृत जाँच बिन्दु सञ्चालनमा ल्याइएको छ । 

स्थालमार्गबाट मुलुकमा सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाकामा गत असार २६ मा एकीकृत जाँच बिन्दु सञ्चालन गरिएको थियो । यो नाकामा जाँच बिन्दु प्रभावकारी भएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालीदह नाकामा पनि बुधबारबाट एकीकृत जाँच बिन्दु सञ्चालनमा ल्याएको हो । स्थानीय पालिकासँग समन्वय गरी यहाँ जाँच बिन्दु सञ्चालनमा ल्याइएको हो ।

बुधबार एकीकृत जाँच बिन्दुको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान, उपप्रमुख कल्पना हरिजन, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतले उद्घाटन गर्नु भएको छ । सवारीसहित नेपाल भित्रिने पर्यटकलाई ठाउँठाउँमा चेकिङ गरिँदा दुःख पाउने गरेको गुनासो बढेपछि एकीकृत जाँच बिन्दु अवधारण ल्याई सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

एकीकृत जाँच बिन्दुमा भन्सार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीले एकैठाउँमा जाँच गर्नेछन् । त्यसपछि उनीहरूलाई सुरक्षा जाँचसहितको कार्ड उपलब्ध गराइने छ भने जिल्लाभर अन्यत्र चेकजाँच हुने छैन । 

पछिल्लो समय आफ्नै सवारी साधन लिएर बुद्ध जन्मस्थल लुम्बिनी आउजाउ गर्ने अधिकांश भारतीय पर्यटक कालीदह नाका हुँदै भित्रिन्छन् ।