• ९ मंसिर २०८१, आइतबार

दोहोरो नागरिकता लिन खोज्ने एक पक्राउ

blog

बोमलाल गिरी

नवलपुर, भदौ २६ गते । नवलपुर प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएर फेरि नवलपुरबाट लिन खोज्ने मध्यविन्दु नगरपालिका वडा नम्बर १० का तिलप्रसाद टोमटाका छोरा ३९ वर्षीय टिकाप्रसाद टोमटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

टोमटाले नयाँ नागरिकता बनाउनका लागि जन्म मिति लगायत सम्पूर्ण विवरण झुटो पेस गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले जानकारी दिनुभयो ।

टोमटालाई फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(६) बमोजिम दोहोरो नागरिकता शीर्षकका जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको पौडेलले जानकारी दिनुभयो । कुनै नेपालीले झुटो विवरण पेस गरी नागरिकता लिएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद र एक लाख रुपियाँसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।