काठमाडौँ, भदौ २६ गते । नेपाली आकाशमा १६ वर्ष तीन दिन उडान गरेको बुद्ध एयरको कलसाइन नाइन एन एआइएन एटिआर ४२–३२० जहाजले मङ्गलबारदेखि उडान बन्द गरेको छ ।
सन् २००८ सेप्टेम्बर १७ मा नेपाल भित्रिएर माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान सुरु गरेको उक्त जहाज ६९ हजार ९९९ उडान–अवतरण ९साइकल० पछि मङ्गलबार अन्तिम माउन्टेन फ्लाइट गरेर एक कार्यक्रमका बिच सधैँका लागि उडान बन्द गरेको छ । एक साइकल बाँकी हुँदै बिदाइ गरिएको छ । एटिआरको ७० हजार साइकल हुन्छ ।
बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले जहाजको बिदाइ कार्यक्रममा एटिआर विमानहरूको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रको भन्दा कम नरहेको प्रमाणित भएको बताउनुभयो ।
बुद्ध एयरका प्राविधिक निर्देशक मङ्गेश थापाका अनुसार नेपालमा यस जहाजले ४० हजार उडान साइकल पूरा गरेको छ । उहाँले भन्नुभयो, “सन् १९९७ डिसेम्बर २८ देखि उड्न थालेको ४७ सिट क्षमताको यो जहाज नेपालमा ल्याउनुभन्दा पहिला १३ वर्ष प्रयोग भइसकेको थियो । संसारभरमा ७२ हजार साइकल पूरा गरेर बिदाइ भएको यो पहिलो जहाज हो ।” विमान उत्पादक कम्पनीले दिएको साइकल र विमान सञ्चालकले आर्थिक रूपमा सञ्चालन गर्न नसक्दा जहाज सधैँका लागि बिदाइ हुने गरेको जानकारी दिँदै उहाँले यो आफ्नो साइकल पूरा गर्ने पहिलो एटिआर जहाज भएको दाबी गर्नुभयो ।
कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार फ्रान्सेली क्षेत्रमा पर्ने टापु न्यु क्यालेडोनियाको एयर क्यालेडोनियाले यो जहाजबाट ३० हजार साइकल उडान गरेको थियो । नेपाली आकाशमा मात्रै ४० हजार साइकल पूरा गरेको यो जहाजले १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ । नेपाली हवाई इतिहासमा पूर्ण सञ्चालन अवधि पार गरेर जहाजको बिदाइ गरिएको पहिलो पटक भएको बुद्ध एयरले जनाएको छ । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारी, एटिआर कम्पनीका प्रतिनिधिलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरेका हुन् ।