• २७ पुस २०८१, शनिबार

आज छोनाम (न्वागी) मनाउँदै चेपाङ समुदाय

blog

फाइल तस्बिर

चितवन, भदौ २२  गते । चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ । 

विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो । यस पटक गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा भेला भई नाचगानगरी पर्व मनाउन लागिएको उहाँले  बताउनुभयो । गत वर्ष धादिङ गजुरी गाउँपालिका–५ च्याङ्लीमा सामूहिक रूपमा भेला भएर न्वागी मनाइएको थियो । 

चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वागी मनाउने गरिएको अध्यक्ष चेपाङको भनाइ छ । 

उहाँका अनुसार वि.सं. २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रूपमा न्वागी मनाउँदै आइएको छ । भदौ २२ गते सामूहिक रूपमा न्वागी मनाउँदै आए पनि आफ्नो कुलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने परम्परा छ । 

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यता छ । न्वागी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खान सुरु गर्ने दिनका रूपमा पनि लिइन्छ । 

न्वागीमा चेपाङ झाँक्री (पान्दे) ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खुवाउने चलन छ । 

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् ।  यसैबिच मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ । २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको अध्यक्ष चेपाङले बताउनुभयो ।  

चेपाङहरूको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङगरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आएको छ ।