• २० असोज २०८१, आइतबार

मानव बेचबिखनका मुद्दा चार

blog

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिले सुर्खेतमा आयोजना गरेको सरोकारवालाहरूको छलफल । तस्बिर : ललित बसेल

सुर्खेत समाचारदाता

सुर्खेत, भदौ २१ गते । कर्णाली प्रदेशमा मानव बेचबिखनका घटना निकै कम दर्ता हुने गरेको पाइएको छ । प्रहरीका अनुसार गत वर्ष चार वटा मात्रै दर्ता भएका थिए । भित्रभित्र विभिन्न प्रलोभनमा परी मानव बेचबिखन भइरहेको बताइए पनि कानुनी रूपमा न्यून दर्ता हुने गरेको पाइएको छ । चालु आर्थिक वर्षमा एउटा पनि मुद्दा दर्ता भएको छैन । 

मानव बेचबिखनविरुद्धको दिवसमा आयोजित कार्यक्रममा प्रहरीले मानव बेचबिखनका मुद्दा कम परेको जनाएको छ । सुर्खेत प्रदेश राजधानी घोषणा भएसँगै जनघनत्व बढेको, अवसरको खोजीमा आउने तर यहाँबाट पनि भारतलगायत अन्य मुलुक तथा होटेल रेस्टुरेन्टतिर बेचबिखन हुने जोखिम बढेको भन्दै सरोकारवालाले नाकामा निगरानी बढाउनुपर्ने, मानव बेचबिखनविरुद्ध काम गर्ने सङ्घसंस्थाबिच समन्वय हुनुपर्ने, होटल तथा यातायात व्यवसायी पनि सजग बन्नुपर्नेमा जोड दिइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी अपिलराज बोहराले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध यातायात व्यवसायीलाई चनाखो बन्न सुझाव दिँदै शङ्कास्पद व्यवहार भए प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो । उहाँले नाकामा पनि प्रहरीलाई थप सक्रिय र निगरानी बढाउन निर्देशन दिइएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहमा पनि समिति गठन गर्नुपर्ने भनिए पनि हालसम्म गठन नभएको पाइएको भन्दै निगरानी गर्ने काम तल्लो तहबाट पनि हुनुपर्नेमा जोड दिनुभयो । 

नागरिक समाजका संयोजक पीताम्बर ढकालले कानुन कार्यान्वयन फितलो हुँदा मानव बेचबिखन ओसारपसार भइरहेको बताउनुभयो । होटल व्यवसायी तथा यातायात व्यवसायीहरूले यस विषयमा बढी निगरानी गर्नुपर्ने, सेवाग्राहीलाई पनि सचेतनामूलक सन्देशहरू प्रवाह गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । महिला तथा बालबालिकाको क्षेत्रमा सुर्खेतमा कार्यरत आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले विभिन्न प्रलोभनमा परी गाउँबाट सहर आएका महिला तथा किशोरीहरू मानव बेचबिखनको जोखिममा बढी पर्ने गरेको बताउनुभयो । उहाँले गरिबी, बेरोजगारी, पारिवारिक समस्या, साथीहरूको लहलहै, महत्वाकाङ्क्षाले गर्दा मानव बेचबिखनको जोखिम बढाएको उल्लेख गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी एवं मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिका संयोजक शङ्करहरि आचार्यले प्रविधिको दुरुपयोगले मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढाएको बताउनुभयो । उहाँले विगतको तुलनामा यसको स्वरूप पनि परिवर्तन भएकाले प्रहरीले मात्रै रोकथाम गर्न नसक्ने हुँदा विशेष गरी यातायात व्यवसायी, होटेल व्यवसायी, निजी क्षेत्र र नागरिक समाजले पनि सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । साथै शङ्कास्पद व्यवहार भएमा प्रहरी प्रशासनसँग सहयोग माग्न, यातायात व्यवसायीले पनि सचेतनामूलक सन्देशहरू दिन, होटल व्यवसायीले नाम ठेगाना स्पष्ट राख्न लेख्नुपर्ने सुझाव उहाँले दिनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मीना शाहीले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधानका बारेमा जानकारी गराउनुभएको थियो । यातायात व्यवसायीहरूले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध बसहरूमा सन्देश प्रवाह गर्ने, आशङ्का लागेमा प्रहरीलाई खबर गर्ने प्रतिबद्धता जनाएका छन् ।