• ८ मंसिर २०८१, शनिबार

आमा–छोराको शङ्कास्पद मृत्यु

blog

भक्तिविलाश पोखरेल

गाईघाट, भदौ २० गते । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा एकै परिवारका आमा र छोराको शङ्कास्पद मृत्यु भएको छ । बिहीबार बिहान कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा अन्दाजी ४० वर्षीया निर्मला थापा र निजका छोरा ६ वर्षीय आरुस थापा घरभित्रै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन चापागाईँले बताउनुभयो । 

आफ्नै घरभित्र रगतले लतपतिएको अवस्थामा आमा र छोराको शव भेटिएको कटारी नगरपालिका कार्यपालिका सदस्य गीता गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार बालकको घाँटीमा धारिलो हतियारले काटेको देखिएको छ । महिलाको लास घोप्टिएको अवस्थामा भेटिएको छ । एकै परिवारका आमा र छोरा शङ्कास्पद अवस्थामा मृत फेला परेपछि स्थानीय गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल विकट क्षेत्रमा रहेकाले प्रहरी टोली घटनास्थल पुगिसकेको भए पनि घटनाको थप विवरण आउन बाँकी रहेको छ । घटनाको प्रकृति प्रहरीले भरखर मात्र निरीक्षण गर्न थालेकाले थप केही समयपछि विवरण आउने प्रनाउ चापागाईँको भनाइ छ । इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटाइएको छ । 

स्थानीयका अनुसार मृतकका श्रीमान् अशोक थापा अर्की श्रीमती लिएर विगत तीन वर्षदेखि भारतको दिल्लीमा बस्दै आउनुभएको छ । श्रीमान् अर्की श्रीमती लिएर दिल्ली गएपछि निर्मला गुजारा चलाउन सामान्य खुद्रा पसल गरेर गाउँमै बस्दै आउनुभएको थियो ।