• २७ पुस २०८१, शनिबार

दसैँका सामान बोकेका कन्टेनर न्यालममै अड्किए

blog

चीनको न्यालम र खासा क्षेत्रमा अलपत्र अवस्थामा तीन सातादेखि रोकिएका ९३ वटा कन्टेनर ।

चित्र मिजार

सिन्धुपाल्चोक, भदौ २० गते । दसैँ लक्षित सामान बोकेर चीनबाट तातोपानी आउन लागेका ९३ वटा कन्टेनरहरू खासा र न्यालम क्षेत्रमा तीन सातादेखि अलपत्र अवस्थामा रोकिएका छन् । 

चीनले खासा बजारकोबिच भागमा सुरङ निर्माण गरिरहेकोले नेपाली व्यापारीले काठमाडौँ ल्याउन लागेका फलफूल र लत्ताकपडा लगायतका सामान खासा र न्यालम क्षेत्रमा नै रोकिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले बताउनुभयो । सुरुङ निर्माण कहिले सकिन्छ र सामान तातोपानी भित्राउला भन्ने चिन्तामा व्यापारीहरू छन् । 

फलफूल बोकेका २३ वटा र ७० वटा दसैँका लत्ताकपडा, जुक्ता लगायतका सामान बोकेका गाडीहरू चिनियाँ क्षेत्रमै रोकिएपछि व्यापारीहरू चिन्तित भएका हुन् ।

चीन सरकारले खासालाई स्मार्ट सिटी बनाउनका लागि सुरुङ, सडक लगायत निर्माणका काम गरिरहेको छ । उसले ५० प्रतिशत पुराना भवनहरू भत्काएर पुनर्निर्माण गरिरहेको छ । अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म सुरुङको ढलान गर्ने कामका कारण पनि अझै केही दिन रोकिएका कन्टेनर खासासम्म पनि आउन पाउने छैनन् । 

सुरुङ र सडक निर्माणका समयभन्दा बिहान र बेलुकीको समयमा रोकिएका कन्टेनर छाडिदिन चिनियाँ पक्षसँग पहल भइरहेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले जानकारी दिनुभएको छ । 

चिनियाँ भूमिमा रोकिएका कन्टेनर तातोपानी नाका भित्राउन नेपाल सरकार, सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय, नाका आबद्ध व्यापारिक सङ्घसंस्थाहरू लागिरहेको उहाँले बताउनुभएको छ । चिनियाँ क्षेत्रमा रोकिएका एक कन्टेनर बराबर नेपाली तीन कन्टेनर सामान हुन्छ । 

स्याउ, सुन्तला, अनार लगायतका फलफूल बोकेका गाडीहरूमा फलफूल कुहिने अवस्थामा पुगेका छन् । अन्य सामानहरूमा ढुसी लाग्ने अवस्थामा पुगेका छन् । लामो समय कन्टेनर अड्किएपछि लागत रकम पनि महँगो हुने भएको छ । सामान राजधानी आइपुग्न ढिला हुँदाको बैङ्कको ब्याज, खाना बस्न, पार्किङ शुल्क लगायतका रकम जोडिँदा उपभोक्ताले महँगोमा खरिद गर्नु पर्ने समस्या देखिन्छ ।