• २७ पुस २०८१, शनिबार

एचआइभी सङ्क्रमणबाट बच्न 'पेप' सेवा सुरु

blog

पेप सेवाबारे जानकारी दिन आयोजित कार्यक्रमका सहभागीहरू । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, भदौ २० गते । एचआइभी सङ्क्रमणबाट बच्न पाल्पामा पहिलो पटक 'पेप' सेवा सुरु भएको छ । जिल्लास्थित नेपाल परिवार नियोजन सङ्घले एचआइभी सङ्क्रमण रोक्न प्रभावकारी हुने 'पेप' सेवा तानसेनमा सुरु गरेको हो । 

एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरूलाई लक्षित गरेर सङ्घले सेवा सुरु गरेको हो । पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वतलगायतका जिल्लाका मानिसलाई यो सेवा दिइने शाखा प्रवन्धक सोबाकान्त न्यौपानेले जानकारी दिनुभयो । एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका व्यक्ति, यौनकर्मी, समलिङ्गी पुरुष, ट्रान्सजेन्डर व्यक्ति वा सङ्क्रमितका साथीको सुरक्षा सुनिश्चित गर्न सेवा सुरु गरिएको उहाँले बताउनुभयो । प्रेप नियमित सेवन गर्दा ९९ प्रतिशत सङ्क्रमित हुनबाट जोगिने उहाँले जानकारी दिनुभयो । 

प्रेप एक प्रकारको सेवन गर्ने औषधी हो । प्रेप केवल एचआइभी सङ्क्रमणको सुरक्षाका लागि मात्र हुने भएकोले अन्य यौनजन्य रोगबाट बच्न नसकिने वरिष्ठ मेडिकल अधिकृत राकेशलाल बज्राचार्यले बताउनुभयो । उहाँले प्रेप औषधी खानुभन्दा अगाडि र प्रयोग गरिरहेको समयमा नियमित रुपमा एचआइभी परीक्षण गर्नुका साथै चिकित्सकसँग परामर्श लिनुपर्नेमा जोड दिनुभयो । 

पाल्पामा हाल करिब ३५० बढी एचआइभी सङ्क्रमित रहेकामा दुई जनाले बाहेक सबैले औषधी सेवन गरेका छन् । ती सङ्क्रमितको सम्पर्कमा रहेको व्यक्तिलाई मात्र पेप सेवा दिन सकिने हो भने एचआइभी सङ्क्रमण न्युनीकरण गर्न सकिने स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत विश्वनाथ न्यौपानेले बताउनुभयो ।