• २७ पुस २०८१, शनिबार

शिक्षा सुधारका लागि प्रधानाध्यापकको घुम्ती बैठक

blog

गुल्मी समाचारदाता

गुल्मी, भदौ २० गते । गुल्मीको पश्चिमी ग्रामीण भेग अग्लुङ्गमा शिक्षामा सुधारसँगै गुणस्तर वृद्धिका लागि प्रधानाध्यापकको घुम्ती बैठक सञ्चालन गरिएको छ । मदाने गाउँपालिका–१, अग्लुङ्गभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न वडा शिक्षा समितिले घुम्ती बैठक सञ्चालन गरेको हो । 

यसै शैक्षिकसत्रदेखि प्रत्येक महिना वडाभित्रका सबै विद्यालयका प्रधानाध्यापकको बैठक प्रत्येक महिना यहाँका फरक फरक विद्यालयमा वडाध्यक्षसमेतको उपस्थितिमा हुने गरेको छ । अग्लुङ्ग माध्यमिक विद्यालयका प्रधानाध्यापक भविलाल खत्रीले हालसम्म तीन वटा विद्यालयमा प्रधानाध्यापकको घुम्ती बैठक भइसकेको बताउनुभयो । 

एक विद्यालयले गरेका विभिन्न नयाँ अभ्यास तथा सिकाइ अन्य विद्यालयले पनि सिक्ने उद्देश्यसमेत राखेर वडा शिक्षा समितिले नयाँ कार्यक्रम ल्याएको हो । यहाँका विद्यालयमा हुने मासिक परीक्षालाई वडास्तरीय बनाइएको छ । सबै विद्यालयले शिक्षाको गुणस्तर सुधार्न विशेष जोड दिएको उहाँले बताउनुभयो । यहाँका विद्यालयमा हुने मासिक परीक्षालाई व्यवस्थित गर्न वडास्तरीय परीक्षा समितिसमेत गठन गरिएको छ । वडाध्यक्ष सुशील चन्दले विद्यालयबिच प्रतिस्पर्धा गराउनुका साथै पठनपाठनमा सबैलाई जागरुक बनाउन लागिएको हुँदा घुम्ती बैठकले विद्यार्थी तथा अभिभावकबाट आउने विभिन्न खालका गुनासाको अन्त्य हुने बताउनुभयो ।