• ८ मंसिर २०८१, शनिबार

अन्धोपन न्यूनीकरण अभियान : आँखा अस्पताल र पालिकाबीच सहकार्य जारी

blog

काठमाडौँ,  भदौ १९ गते ।  अन्धोपन न्यूनीकरणका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले स्थानीय पालिकासँगको सहकार्यलाई निरन्तर जारी राखेको छ । यस क्रममा नेपाल आँखा अस्पताल र काठमाडौँ महानगरपालिका वडा नं १२ का बीचमा सम्झौता भएको छ । सम्झौतामा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँ र काठमाडौँ–१२ का वडाध्यक्ष बालकृष्ण महर्जनले मङ्गलबार हस्ताक्षर गर्नुभयो । 

कार्यकारी  निर्देशक गोसाईँका अनुसार सम्झौतामा काठमाडौँ–१२ मा मोतियाबिन्दु छनोट शिविर,  सार्वजानिक विद्यालयमा आँखा जाँच तथा उपचार कार्यक्रम तथा वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेवीकाका लागि आँखा उपचारसम्बन्धी प्राथमिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । शिविरमा मोतियाबिन्दु शल्यक्रियाका लागि छनोट भएका बिरामीको आँखा अस्पतालमा निः शुल्क शल्यक्रिया गरिनेछ भने दृष्टि न्यून भएका विद्यार्थीका लागि निःशुल्क चस्मा वितरण गरिनेछ ।

अस्पतालले यसप्रकारको सहकार्य  काठमाडौँ–११, ललिपुर महानगरपालिका वडा नं १८  र चन्द्रागिरि नगरपालिका वडा नं ७ सँग गरिसकेको छ । अस्पतालका कार्यकारी निर्देशक गोसाईँका अनुसार  आँखा उपचारसम्बन्धी सबै उपचार सेवा प्रदान गरिराखेको सो अस्पतालले विगत वर्ष एकलाख ७५ हजारलाई बहिरङ्ग सेवा, १२ हजार  शल्यक्रिया सेवा, घुम्ती आँखा उपचार सेवा प्रदान गरेको थियो । 

 अस्पतालले बाराको सिमरा, गोरखाको भच्चेक र काठमाडौ उपत्यकाका तीन स्थानमा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । रासस