• २७ पुस २०८१, शनिबार

गौमुखी गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट

blog

स्वास्थ्य सेवातर्फ उत्कृष्ट भएका पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, भदौ १८ गते । जिल्लाको दुर्गम पालिकाको रुपमा चिनिने गौमुखी गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८०-०८१ को कार्य सम्पादन मूल्याङ्कनका आधारमा गौमुखी गाउँपालिका जिल्लामा पहिलो बनेको हो ।

कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्रथम गौमुखी गाउँपालिका, द्वितीय माण्डवी गाउँपालिका र तृतीय ऐरावती गाउँपालिका भएको स्वास्थ्य कार्यालय प्युठानका कोल्डचेन अधिकृत कोशलराज वैद्यले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ट पालिकालाई वार्षिक समीक्षा कार्यक्रमको अवसरमा सम्मान गरी प्रशंसा पत्र प्रदान गरिएको छ ।

त्यसैगरी, स्वास्थ्य कार्यालयले उत्कृष्ट स्वास्थ्य चौकीहरु समेत छनौट गरेको छ । कार्यालयका अनुसार प्रथम गौमुखी गाउँपालिकाकै अर्खा स्वास्थ्य चौकी,  द्वितीय ऐरावती गाउँपालिकाको पुरनठाँटी स्वास्थ्य चौकी र तृतीय माण्डवी गाउँपालिकाको देविस्थान स्वास्थ्य चौकी भएका छन् ।

पालिकाले प्रदान गरेको समग्र स्वास्थ्य सेवा र तथ्याङ्कमा आधारित मूल्याङ्कनमा पालिका प्रथम भएको गौमुखी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैशीले बताउनुभयो । खोप कार्यक्रम, संस्थागत सुत्केरी, क्षयरोग पहिचान दर र उपचार, परिवार नियोजन, स्वास्थ्य संस्थाको भौतिक अवस्था लगायतमा पालिकाले राम्रो गरेको उहाँको भनाइ छ ।