• २६ पुस २०८१, शुक्रबार

गणतन्त्रलाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुन्छ : मन्त्री लेखक

blog

पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखक । तस्विरः कृतबहादुर बिष्ट

कृतबहादुर विष्ट

फूलबारी (कैलाली), भदौ १८ गते । गृहमन्त्री रमेश लेखकले संविधानका आधारभूत तत्वहरुमा कुनै परिवर्तन नगर्ने गरी र गणतन्त्रलाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताउनुभएको छ । 

गृह जिल्ला कञ्चनपुर जाने क्रममा मङ्गलबार धनगढी विमानस्थलमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सो कुरा बताउनुभएको हो । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्ने तरिकाले संविधान संशोधन हुने उहाँले बताउनुभयो । संविधान संशोधन विभिन्न चरण पार गर्दै गरिने चर्चा गर्नुहुँदै  उहाँले भन्नुभयो, ‘‘पहिलो चरणमा संविधानको विषयमा व्यापक समीक्षा हुन्छ, समस्याको पहिचान हुन्छ र पहिचान भएको समस्याको सम्पूर्ण राजनीतिक दलहरुबिच सहमतिका आधारमा संविधान संशोधन हुन्छ ।’’ 

नेपालको संविधान २०७२ निर्माणका क्रममा जसरी नेपाली कांग्रेसले सबै राजनीतिक दलको सहमतिमा संविधान निर्माण गरेको थियो, त्यसरी नै संविधान संशोधनका क्रममा पनि सर्वदलीय सहमतिकै आधारमा संशोधन हुने मन्त्री लेखकको भनाइ छ ।  

यसगरी गृहमन्त्री लेखकले देशमा राजनीतिक अस्थिरता हटाउन एमाले र कांग्रेसको गठबन्धन भएको बताउनुहुँदै भन्नुभयो, ‘‘यो गठबन्धन परिपक्व र २०८४ सम्म रहनेछ ।’’ दुई ठूला दल कांग्रेस र एमालेबिचको गठबन्धन सरकार बनेलगत्तै अर्थतन्त्रमा सुधार आएको बताउनुभयो । 

मन्त्री लेखकले भन्नुभयो, ‘‘शिथिल भएको अर्थतन्त्र चलायमान भएको छ, सरकार बन्ने र भत्किनेक्रम अब बन्द भएको छ । जसले गर्दा देश आर्थिक समृद्धिको मार्गतर्फ उन्मुख भएको छ ।’’ 

परिपक्व दुई दलीय गठबन्धन सरकार बनेकै कारण सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्न सफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘तीन वर्षभित्र आयोग गठन गरी काम सम्पन्न गर्ने लक्ष्य सरकारको छ, जसको बिदेशी शक्तिले पनि स्वागत गरिसकेका छन् ।’’ 

पत्रकार सम्मेलनमा बोल्नुहुँदै गृहमन्त्री लेखकले सहकारीका विषयमा कानुन बमोजिम प्रक्रिया अघि बढेको बताउनुहुँदै दोषीले उन्मुक्ति नपाउने दाबी गर्नुभयो । जिल्ला कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका गृहमन्त्री लेखकलाई धनगढीस्थित विमानस्थलमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य र नेता कार्यकर्ताले स्वागत गरेका थिए ।