• ८ मंसिर २०८१, शनिबार

राजगमार्ग कालोपत्रे गरेलगत्तै खण्डहर

blog

कालोपत्रे गरिएलगत्तै खण्डहर भएको मेची राजमार्गको जोरपोखरी–गोपेटार सडकखण्ड । तस्बिर :राधा लुइटेल

राधा लुइटेल

फिदिम, भदौ १८ गते । पाँचथरको जोरपोखरी–गोपेटार सडकखण्ड जोड्ने सडक खण्डहर भएको छ । गत चैत वैशाखमा कालोपत्रे गरिएको मेची राजमार्गको ताप्लेजुङ फिदिम खण्ड भत्किएपछि सवारीसाधन मात्रै नभएर मान्छे हिँडडुल गर्न समेत हम्मे हम्मे पर्न थालेको छ ।

गत असार पहिलो साता गरिएको कालोपत्रे उप्केर वर्षाको पानीसँगै बगेपछि यस सडकखण्डका अधिकांश स्थानमा सवारी र ढुवानीका साधन आउजाउ गर्न गराउन कठिनाइ भएको छ ।

फिदिमस्थित सञ्जीव निर्माण सेवाले ठेक्का लिएको यो सडक निर्माण गर्न सडक डिभिजन इलामले तीन करोड रुपियाँ खर्चेको थियोे । हिलिहाङ–७, सल्लेरीदेखि हिलिहाङ–३, गोपेटारसम्मको आठ किलोमिटर सडक कालोपत्रे गरिएकोमा जोरपोखरीदेखि गोपेटारबिचमा पर्ने करिब दुई किलोमिटर क्षेत्रमा समस्या आएको सडक डिभिजन इलामका साइट इन्जिनियर विपिन ढुङ्गाना बताउनुहुन्छ ।

कालोपत्रे सकिँदा नसकिँदै बाटोमा छापिएको कालोपत्रे बग्नुका साथै छेउ भित्तामा ठुला ठुला खाल्डा परेका कारण यस क्षेत्रमा सवारी र ढुवानीका साधन चलाउन धेरै नै कठिन हुने गरेको चालक मोहन लिम्बूले बताउनुभयो ।

स्थानीय कर्णश्याम लावतीले निर्माण व्यवसायी र अनुगमन गर्ने सडक डिभिजनको लापर्बाहीले सडक यो अवस्थामा पुगेको बताउनुभयो । हिलिहाङका हरि लोवा भन्नुहुन्छ, “कालोपत्रे नसकिँदै सयौँ टन क्षमताका ट्रक र लोडर कुदाइएकाले पनि समस्या आएको हो ।”

कालोपत्रे गर्ने क्रममा अनुकूल सिमेन्ट र बालुवाको मात्रा नमिलाइएको र तुरुन्तै अधिक भार वहन क्षमताका ढुवानी साधन गुडाइएकाले सडकको यो हालत भएको स्थानीयको टिप्पणी छ ।

सडक डिभिजन इलाम र निर्माण व्यवसायीबिच भएको सम्झौतामा दुई सेन्टिमिटर मोटाइको कालोपत्रे गर्नुपर्ने उल्लेख छ । कालोपत्रे गर्न जिम्मेवारी लिएको सञ्जीव निर्माण सेवाका सञ्चालक वीरेन्द्र श्रेष्ठले कालोपत्रे गरिएलगत्तै अत्यधिक बर्सात भएका कारण जमिनमुनि पानी उम्रेर यो अवस्था आएको बताउनुभयो । इन्जिनियर विपिन ढुङ्गाना चिसो भइरहने यो क्षेत्रमा कालोपत्रे गरेपछि पनि जमिनमुनिको पानी रसाएका कारण छिटो बिग्रेको दाबी गर्नुहुन्छ ।  

कालोपत्रे भत्किनुका कारणबारे भौतिक योजना मन्त्रालयले प्राविधिक टोली खटाएर अध्ययन गरेको र अध्ययन प्रतिवेदन आएपछि मात्रै यकिन हुने उहाँको भनाइ छ । बिग्रिएको सडकखण्डको प्राविधिक मूल्याङ्कन गरेर भुक्तानी रोकेको र पुनः काम सकेपछि मात्रै फुकुवा गर्ने पनि ढुङ्गानाले स्पष्ट पार्नुभयो ।