• २८ पुस २०८१, आइतबार

दुध उत्पादक किसानले पाएनन् भुक्तानी

blog

हिले समाचारदाता 

हिले, भदौ १८ गते । दुग्ध विकास संस्थान (डिडिसि) बाट धनकुटाका दुध उत्पादक किसानले विगत नौ महिनादेखि भुक्तानी पाएका छैनन् । गत वर्षको मङ्सिर १५ गतेसम्मको मात्र भुक्तानी गरेको संस्थानले त्यसयता कुनै पनि रकम भुक्तानी नगरेको दुध उत्पादक जिल्ला सहकारी सङ्घ धनकुटाले जनाएको छ । पहिले १५ दिनको अन्तरमा भुक्तानी गर्दै आएको संस्थानले गत वर्षबाट नियमित भुक्तानी गर्न छाडेको सङ्घका सचिव रोमबहादुर बाजिम्पाकले बताउनुभयो । 

सङ्घका अनुसार २०८० मङ्सिर १५ देखि २०८१ असार मसान्तसम्म मात्रै डिडिसीले धनकुटा र तेह्रथुमका १७ वटा दुध सङ्कलक सहकारी संस्थालाई १३ करोड ९३ लाख रुपियाँ भुक्तानी दिन बाँकी छ । १७ वटा दुध सङ्कलक सहकारीमध्ये धनकुटाका १५ र तेह्रथुमका दुई सहकारी संस्था छन् ।

यी दुध सङ्कलक सहकारी संस्थाले धनकुटा र तेह्रथुमका करिब पाँच हजार किसानले उत्पादन गरेको दुध सङ्कलन गरी डिडिसीलाई बिक्री गर्दै आइरहेको छ । डिडिसीले बक्यौता रकम भुक्तानी नगर्दा दुध उत्पादक किसान पेसाबाटै विस्थापित हुने अवस्थामा पुगेको दुध उत्पादक कृषकको गुनासो छ । 

डिडिसीबाट भुक्तानी नपाउँदा ती सहकारीले किसानलाई भुक्तानी दिन पाएका छैनन् । पछिल्लो साउन महिनाको समेत संस्थानले सहकारी संस्थालाई भुक्तानी गरेको छैन । 

विगत नौ महिनाको अवधिमा भुक्तानीका लागि विभिन्न चरणमा आन्दोलनसँगै सम्झौता गरे पनि भुक्तानी नपाएको चञ्चलादेवी बहुउद्देश्य दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष नगेन्द्र पाण्डेले जानकारी दिनुभयो । 

“डिडिसीले भुक्तानी अड्काइदिँदा हामीले कृषकलाई पैसा दिन सकेनौँ । यसबाट कृषक यो पेसाबाट विस्थापित हुने अवस्थामा पुगेका छन्,” उहाँले भन्नुभयो ।