• १७ भदौ २०८१, सोमबार

विद्यालयको बालबचत खाता,डेढ वर्षमै अठासी लाख जम्मा

blog

प्रेम अधिकारी

पशुपतिनगर (इलाम), भदौ १७ गते । इलामको सूर्योदय नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा सञ्चालन गरेको बालबचत खातामा डेढ वर्षको अवधिमा ८८ लाख रुपियाँभन्दा बढी रकम जम्मा भएको छ । 

विद्यार्थीले गर्ने फजुल खर्च कटाएर बचत गर्ने बानीको विकास गर्नका लागि नगरपालिकाले नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीको बैङ्क खाता खोली सञ्चालन गरिएको बालबचत खातामा उक्त रकम जम्मा भएको हो । 

विद्यार्थीले दैनिक न्यूनतम पाँच रुपियाँका दरले रकम जम्मा गर्दा २०७९ मङ्सिरदेखि २०८१ असार मसान्तसम्म सामुदायिक र संस्थागत विद्यालयमा गरी ८८ लाख ७३ हजार ५१५ रुपियाँ रकम जम्मा भएको सूर्योदय नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नवीन पौडेलले जानकारी दिनुभयो । 

नगरले बालबचत खाता सञ्चालनसम्बन्धी कार्यविधि बनाएर सुरुमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बचत गराएको थियो । नगरले गत शैक्षिक सत्रदेखि संस्थागत विद्यालयका विद्यार्थीको समेत खाता सञ्चालन गरी बचत कार्यव्रmममा सहभागी गराएको छ । 

नगरपालिकामा ६५ वटा सामुदायिक विद्यालयमा भर्ना भएका दुई हजार ६६५ जना विद्यार्थीमध्ये दुई हजार ४९० जनाको खाता सञ्चालन गरिएको छ । यसबाट सामुदायिकतर्फ ८५  लाख ८८ हजार ४५० रुपियाँ जम्मा भएको छ । बसाइँ सरी आउने तर कागजी प्रव्रिmया पूरा नगरेका कारण केही विद्यार्थीको खाता सञ्चालनमा समस्या भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनुभयो । 

नगरभित्रका ३१ वटा संस्थागत विद्यालयका दुई हजार ३४ जना भर्ना भएका विद्यार्थीमध्ये ७४७ जनाले मात्र खाता खोलेको पाइएको छ । जसबाट संस्थागततर्फ दुई लाख ८५ हजार ६५ रुपियाँ मात्र रकम जम्मा भएको शाखाले जनाएको छ । 

विद्यार्थीले नगरको कार्यविधि अनुसार न्यूनतम दैनिक पाँच रुपियाँका दरले मासिक १५० रुपियाँ जम्मा गर्ने गरेका छन् भने फजुल खर्च घटाएर त्योभन्दा बढीकै दरले रकम जम्मा गर्ने गरेको शाखा प्रमुख भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालबचतले विद्यार्थीलाई नियमित गराउन सहयोग पुगेको छ तर संस्थागत विद्यालयले खाता खोलाउने विषयमा कन्जुस्याइँ गरेको पाइयो ।”

शाखा प्रमुख भट्टराईले बालबचत विद्यार्थीको उच्च शिक्षाको सहयोगी कार्यव्रmम भएकाले संस्थागत विद्यालयमा खाता सञ्चालनका लागि थप पहल थाल्ने बताउनुभयो । नगरले कक्षा १२ उत्तीर्ण गरेपछि मात्र खातामा जम्मा भएकोे रकम झिक्न पाउने व्यवस्था गरेको छ । बचत कार्यव्रmमलाई प्रभावकारी बनाउनका लागि नगरले प्रत्येक विद्यालयमा एक जना बालबचत फोकल शिक्षक तोकेको छ । सुरुमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई बचत गराइए पनि अहिले कक्षा ७ सम्म उक्त कार्यव्रmम सञ्चालन गरिएको छ । 

नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले विद्यार्थीको भविष्यलाई ध्यानमा राखी बचत कार्यव्रmम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले विद्यार्थी नियमित गराउने, अभिभावकले विद्यार्थी र विद्यालयप्रति चासो राख्ने भएकाले बचत कार्यव्रmम प्रभावकारी रहेको बताउनुभयो । नगरप्रमुख राईले भन्नुभयो, “शिक्षाको क्षेत्रमा नगरपालिका मात्र सव्रिmय भएर हुँदैन । विद्यार्थी र अभिभावक पनि चलायमान बन्नु पर्छ भन्ने हाम्रो मान्यता हो, त्यो काम यो बचत कार्यक्रमले गरेको छ ।” शैक्षिक गुणस्तर सुधारमा लाग्दै प्रविधिमैत्री शिक्षामा जोड दिइरहेको नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को कुल बजेट एक अर्ब १० करोड ७५ लाख २४ हजार पाँच सय रुपियाँमध्ये शिक्षा क्षेत्रमा मात्र ३६ करोड २७ लाख ७० हजार रुपियाँ विनियोजन गरेको छ । विनियोजित रकममध्ये आन्तरिकतर्फ चार करोड ६३ लाख र अन्य ससर्तको रकम रहेको शाखाले जनाएको छ ।  

नगरले यस शैक्षिक सत्रबाट विद्यालयको भौतिक पूर्वाधार निर्माणमा समेत ध्यान दिने भएको छ । आन्तरिक ५० लाख रुपियाँ बजेटबाट चालु शैक्षिक सत्रमा गणेश्वरी माध्यमिक विद्यालयको भवन निर्माण गरिने भएको छ । शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकको पेसागत विकास तालिम, विद्यालय कार्यसम्पादन निर्देशिका, २०७८ अनुसार सफ्टवेयरमार्फत मूल्याङ्कन कार्यक्रम नगरले सञ्चालन गर्ने भएको छ । 

शिक्षा क्षेत्रमा कोशी प्रदेशकै उत्कृष्ट घोषणा भएको नगरपालिकाले विद्यालयलाई प्रविधिमैत्री बनाउन प्रत्येक विद्यालयमा ई हाजिरी, कम्प्युटर ल्याब सञ्चालन गरी गणित, विज्ञान ल्याब स्थापना गर्दै आएको छ । नगरप्रमुख राईले परीक्षाको नतिजासँग अहिलेको लगानीलाई तुलना गर्नेभन्दा अहिलेको लगानीको प्रतिफल दीर्घकालीन रूपमा देखिने बताउनुभयो । नगरले चालु आवमा बालबचत खाता सञ्चालन र व्यवस्थापनका लागि दुई लाख ५० हजार रुपियाँ रकम विनियोजन गरेको छ । नगरको वडा नं. ८ ले नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीको खातामा प्रतिविद्यार्थी पाँच सयका दरले एकमुस्ट रकम जम्मा गर्न अनुदान रकम राखेको छ ।