• १६ भदौ २०८१, आइतबार

पाँचौँ पुलचोक कपको उपाधि रिडर्सलाई

blog

रमेश विश्वकर्मा

गुल्मी, भदौ १६ गते । पाँचौँ पुलचोक कप–२०८१ अन्तर्गतको छात्रा फुटबल प्रतियोगिताको उपाधि रिडर्स पब्लिक हाइस्कुलले जितेको छ । तम्घासस्थित पुलचोक स्पोटर्स क्लबको आयोजनामा छैटौं वार्षिकोत्सवको अवसरमा आयोजित जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१० सम्म) को छात्रा फुटबल प्रतियोगितामा सिद्धबाबा माध्यमिक विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै रिडर्स पब्लिक हाइस्कुलले उपाधि जितेको हो ।

शनिबार सेमिफाइनलबाट लिटिल स्टार इङ्गलिश बोर्डिङ् स्कुललाई ३–० गोलले पराजित गर्दै रिडर्स पब्लिक हाइस्कुल फाइनल खेलमा प्रवेश गरेको हो । महेन्द्र नमुना माध्यमिक विद्यालयलाई १–० गोलले पराजित गर्दै सिद्धबाबा माध्यमिक विद्यालय फाइनल खेलमा प्रवेश गरेको हो । फाइनल खेलमा उपाधि रक्षाका लागि खेल सुरु भएको दोस्रो हापको २४ मिनेटमा रिडर्सका छात्रा रन्सु बरालले गोल गर्नुभयो । पाँचौं पुलचोक कप–२०८१ को उपाधिसँगै रिडर्स पब्लिक हाइस्कुलले लगातार दोस्रो पटक पुलचोक कपको उपाधि प्राप्त गरेको छ । खेललाई बराबरीमा लैजानका सिद्धबाबा माध्यमिक विद्यालयका खेलाडीले अन्तिमसम्म आक्रामक खेल प्रदर्शन गरे पनि गोल गर्न सकेनन् । 

रिडर्स पब्लिक हाइ स्कुलले पाँचौं पुलचोक–२०८१ को उपाधि जितेसँगै ३३ हजार ३३३ रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पुलचोक कपको पहिलो, दोस्रो र तेस्रो उपाधि जितेको सिद्धबाबा माध्यमिक विद्यालयले उपविजेता बनेर २२ हजार २२२ रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा प्लेयर अफ दी म्याच रिडर्स पब्लिक हाइस्कुलका रन्सु बराल बन्नुभयो । सोही विद्यालयका सोनिया भुजेल उत्कृष्ट डिफेन्डर, बेविसा सोमै उत्कृष्ट गोल रक्षक, जेनिसा बराल सर्वाधिक गोलकर्ता र कल्याण भुजेल उत्कृष्ट कोच बन्नुभयो ।

सिद्धबाबा माध्यमिक विद्यालयका छात्रा केशरी पुन इमरजिङ प्लेयर बन्नुभयो । सोही विद्यालयका प्रतीक्षा घर्ती उत्कृष्ट फरवार्ड र मनीषा श्रीस उत्कृष्ट खेलाडी बन्नुभयो । प्रतियोगितमा अनुशासित समूह रेसुङ्गा माध्यमिक विद्यालय बनेको छ । सदरमुकाम तम्घासको चिदिचौर खेल मैदानमा गत बुधबारदेखि जारी भएको छात्रा फुटबल प्रतियोगिता शनिबारसम्म सञ्चालन भएको माध्यमिक विद्यालयस्तरीय (कक्षा–१० सम्म) को छात्रा फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न १४ विद्यालयले भाग लिएका थिए । 

प्रत्येक वर्ष सहभागी समूहमा वृद्धि हुँदै आएको भन्दै क्लबका उपाध्यक्ष प्रकाश मरासिनीले गुल्मीमा छात्राहरुको फुटबल मोह बढ्दै गएको बताउनुभयो । महिला खेलाडीको पहिचानसँगै महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लब स्थापनादेखि नै छात्रा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष सन्तोष न्यौपानेले बताउनुभयो । खेलको अवलोकनका लागि जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, अभिभावक समेतको बाक्लो उपस्थिति रहेको थियो । छात्रा खेलाडीको खेलप्रतिको लगाव निकै रोचक देखिएको स्थानीयको भनाइ छ ।