• १६ भदौ २०८१, आइतबार

लाखेनाच संरक्षणका लागि प्रतियोगिता

blog

कावासोती १४ त्रिभुवनटारमा लाखेनाच देखाउँदै ।

मीना कंडेल

कावासोती, भदौ १६ गते । नवलपुरमा लाखे नाच संरक्षणका लागि लाखे नाच प्रतियोगिता गरिएको छ । नेवार समुदायभित्र लोप हुँदै गएको मौलिक संस्कृति र परम्परागत रूपमा मनाइने लाखेनाच पर्व जोगाउन लाखेनाचको प्रतियोगिता नै गरेर संरक्षणमा जुटिरहेका छन् । 

कावासोती क्षेत्रमा बसोबास गर्दै आएका नेवार समुदायले संस्कार, संस्कृतिको संरक्षणका लागि जिल्लास्तरीय लाखेनाच आयोजना गरेका हुन् । भीमसेन कालिका नेवाः गुठीका अध्यक्ष मोहनकुमार श्रेष्ठले पछिल्लो समय आदिवासी जनाजातिभित्र रहेका नेवार समुदायको विभिन्न किसिमका परम्परागत संस्कार र संस्कृति लोप हुँदै जान थालेकाले नेवाः गुठीबाट प्रतियोगी समावेश गरी लाखेनाच प्रतियोगिता गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, “लाखेनाचले नेवारी समुदायको पहिचान र संस्कार, संस्कृति झल्काउने कार्य गर्दछ । विभिन्न नेवाः समुदायको लाखे प्रस्तुति जिल्लामा एकैठाउँमा अवलोकन गर्ने अवसर सबैलाई मिलेको छ । लाखेअन्तर्गत कृष्ण प्रस्तुति, चटकीदेखि लाठीनाचसम्मको प्रस्तुति देखाउने गरिन्छ । ”

नवलपुरको कावासोती १४ त्रिभुवनटारमा भएको कावासोती नगर स्तरीय लाखेनाच प्रतियोगितामा कावासोती २ को सिका नेवा गुठी प्रथम भएको छ । त्यसैगरी गणेश भिमसेन नेवाः गुठी गोछडा दोस्रो र शेरगञ्ज नेवाः गुठी शेरगञ्ज तृतीय भएको छ । भीमसेन कालिका नेवा गुठी त्रिभुवनटार र सनराइज युवा समन्वय समितिको आयोजनामा भएको लाखेनाच प्रतियोगितामा कावासोतीका ६ वटा गुठीको लाखे नाँच प्रदर्शन गरिएको थियो ।  

प्रतियोगितामा प्रथम हुनेले ११ हजार १ सय ११ रुपियाँ, दोस्रो हुनेले ५ हजार ५ सय ५५ रुपियाँ र तेस्रो हुनेले तीन हजार ३ सय ३३ रुपियाँ नगद पुरस्कार, शिल्ड र प्रमाण पत्र प्राप्त गरेका थिए ।

नेवार समुदायले आफ्नो धार्मिक, सांस्कृतिक कार्यक्रमका रूपमा प्रस्तुत गर्ने लाखेनाच देशका विभिन्न भू–भागमा लोकप्रिय छ । सामाजिक परम्परासँग जोडिएको लाखेनाच कंशको प्रतीकका रूपमा डरलाग्दो राक्षसी रुप लाखे र अन्य मुखुण्डोधारी उसका सहयोगी सामूहिक रूपमा नेवारी बाजाका तालमा नाच्ने गर्दछन् ।