• १६ भदौ २०८१, आइतबार

पुस्तकालय सञ्चालन नीति अभाव छ : मन्त्री भट्टराई

blog

१७ औँ पुस्तकालय दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजेन्द्रप्रसाद पाण्डेयलाई सम्मानित गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ १५ गते । १७ औँ पुस्तकालय दिवस आज एक समारोहबिच सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा रसियन हाउस, कमलपोखरीमा दिवस मनाइएको हो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले नेपालमा हालसम्म पुस्तकालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी स्पष्ट नीति तथा कानुनको अभाव रहेको बताउनुभयो । 

मन्त्री भट्टराईले पछिल्लो समय विकसित सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालय क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउँदै विद्युतीय पुस्तकालयमा रूपान्तरण गर्नेतर्फ पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।


पूर्वमन्त्री गणेश साहले पुस्तकालय समाजको ऐना भएको बताउनुभयो । त्यस्तै रसियन हाउसका निर्देशक एन्तोन मास्लोभले नेपालमा पुस्तकालय दिवस मनाएजस्तै रसियामा राष्ट्रिय ज्ञान दिवस मनाउने गरिएको बताउनुभयो । 

सो कार्यक्रममा विगत वर्षमाजस्तै मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका प्रमुख केशव दाहालको संयोजकत्वमा गठन भएको छनोट समितिबाट छनोट भएका पुस्तकालय अभियन्ता, पुस्तकालय तथा पुस्तकालयकर्मीलाई सम्मान गरिएको थियो । 

उत्कृष्ट पुस्तकालयकर्मीमा पोखरा विश्वविद्यालयमा कार्यरत उप–लाइब्रेरियन मीनकुमारी डल्लाकोटी, वर्ष पुस्तकालय सेवीमा गीता थापा गिरी, उत्कृष्ट पुस्तकालयमा पर्वतको फ्लेबासमा सञ्चालित मोती सामुदायिक पुस्तकालय रहेका छन् । 

उत्कृष्ट पुस्तकालयको रूपमा सम्मानित मोती सामुदायिक पुस्तकालयलाई रत्न पुस्तकालय, बानेश्वर, काठमाडौँले पनि नगद ५० हजार र कदर पत्रसहित महाकवि देवकोटा पुस्तकालय पुरस्कार, २०८१ प्रदान गरेको छ ।


कार्यक्रममा मूल समारोह समितिका अध्यक्ष तथा मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले पुस्तकालयले विगतमा दिएको सेवा, वर्तमान अवस्था र भविष्यमा दिन सक्ने सेवाको आङ्कलन गर्दै भावीपुस्ताले गर्व गर्न सक्ने पुस्तकालय निर्माणमा राज्यले काम गरिरहेको बताउनुभयो । 

मन्त्रालयका पुस्तकालय समन्वय तथा अभिलेख शाखाका उपसचिव तथा मूल आयोजक समितिका सदस्यसचिव यादवचन्द्र निरौलाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल सामुदायिक पुस्तकालय सङ्घका अध्यक्ष सन्तोष रावल, नेपाल पुस्तकालय सङ्घका अध्यक्ष पुष्पराज सुवेदी, सम्मानित व्यक्तित्व गीता गिरी थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको प्रचार उपसमितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले बताउनुभयो ।