• १६ भदौ २०८१, आइतबार

आन्तरिक पर्यटकको नयाँ गन्तव्य ‘सुतैया ताल’

blog

बाँकेको बैजनाथ ३ मा रहेको रमणीय सुतैया तालमा बालबालिका रमाउँदै। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ १५ गते। बाँकेको बैजनाथ गाउँपालिका-३ मा पर्ने ‘सुतैया ताल’ यस क्षेत्रका आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य र रोजाई बन्दै गएको छ। 

कोहलपुर बजारबाट करिब ६ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ‘सुतैया ताल’ प्राकृतिक रूपले अति नै रमणीय भएकोले पिकनिक गर्ने, वन्यजन्तु अवलोकन गर्ने र वन जङ्गलको आनन्द लिनेका लागि आकर्षणको केन्द्र बन्दै गएको हो। 

सो ताललाई स्थानीय देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले गत एक दशकदेखि संरक्षण र संवर्द्धन गर्दै आएको छ। करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको सो ताल गत केही समययता आन्तरिक पर्यटकको पहिलो रोजाई बन्दै गएको देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष महेन्द्र थारुले बताउनुभयो। 

उहाँले बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल प्राकृतिक रूपले जति रमणीय छ, वन्यजन्तु अवलोकन गर्नेका लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेकोले यहाँ आउने बढ्दै गएको बताउनुभयो। 

पूर्व अध्यक्ष थारुले थप्नुभयो, ‘ताल संरक्षण गर्न थालेपछि यहाँ वन्यजन्तु पानी खान आउन थालेका छन्, अहिले पाटेबाघ, चित्तल, बँदेल लगायत थुप्रै वन्यजन्तु देखिन थालेका छन्, यहाँ आएर वन्यजन्तु सहजै हेर्न पाइन्छ।’

ताल संरक्षणसँगै यसबाट आम्दानी बढाउने खालका पर्यटन सम्बन्धी गतिविधि गर्न सकिने प्रशस्त सम्भावना देखिन्छन्। तर, स्थानीय उपभोक्तासँग लगानी गर्ने स्रोत, साधन नहुँदा सो कार्य हुन सकेको छैन। 

यहाँ पर्यटकलाई बसाउने र खुवाउने पूर्वाधार बन्न नसक्दा राम्रो पर्यटकीय सम्भावना बोकेको यो तालको सौन्दर्य नै ओझेलमा परेको स्थानीयको गुनासो छ। 

पश्चिम पर्यटन सरोकार समूहका संस्थापक अध्यक्ष रामबहादुर मल्लले सुतैया तालले यो क्षेत्रको पर्यटन विकासका लागि धेरै राम्रो सम्भावना बोकेकोले स्थानीय, प्रदेश र सङ्घीय सरकारले लगानी गरेर पर्यटक टिकाउने पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। 

बैजनाथ गाउँपालिकाले सो तालका लागि हरेक वर्ष केही न केही बजेट छुट्याउँदै आएको जनाएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले सुतैया ताललाई प्रमुख पर्यटकीय क्षेत्र बनाउन आफूहरू निकै गम्भीर रहेको जनाउँदै स्थानीय सरकारले ताल संरक्षणका लागि वरिपरि ड्याम निर्माण गर्ने योजना अघि बढाएको बताउनुभयो। 

उक्त ताल राजमार्गको छेउमै रहेकोले ताल वरिपरिको सौन्दर्यकरण र भौतिक पूर्वाधार निर्माणमा लगानी गर्न सकिए नेपालका मात्र नभई ठुलो सङ्ख्यामा भारतीय पर्यटक पनि तान्न सकिने पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो।