• १६ भदौ २०८१, आइतबार

स्याङ्जामा बढ्न थाल्यो डेंगुको सङ्क्रमण

blog

राधाकृष्ण डुम्रे
वालिङ, भदौ १५ गते । 
स्याङ्जामा डेंगुको सङ्क्रमण बढ्न थालेको छ । पछिल्ला केही दिनहरूमा डेंगुसँग मिल्दो लक्षण भएका बिरामीहरूको सङ्ख्या बढेको जिल्लाका अस्पतालहरूले जनाएका छन् ।

भदौको दोस्रो हप्तासम्ममा डेंगु सङ्क्रमितको सङ्ख्या १२४ रहेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाईँले बताउनुभयो । भदौको पहिलो १० दिनमा मात्रै ४२ जनामा सङ्क्रमण पुष्टि भएको उहाँको भनाइ छ । पछिल्लो केही दिनको विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी उहाँले दिनुभयो । यो आधारमा सङ्क्रमितको सङ्ख्या अझै थपिने देखिन्छ ।

परीक्षणको दायरा बढाइएकाले सङ्क्रमित बढी भेटिएको उहाँको दाबी छ । शङ्कास्पद बिरामीलाई अनिवार्य रूपमा परीक्षण गरिँदै आएको चापागाईँले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय, गह्रौँ प्राथमिक अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूमा उपचारका लागि पुग्ने बिरामीहरूमा डेंगुको लक्षण देखिएको पाइए तत्कालै परीक्षण गरिँदै आएको प्रमुख चापागाईँको भनाइ छ । 

डेगुको सङ्क्रमण बढ्न थालेपछि विभिन्न पालिकाहरूले यसको नियन्त्रणका लागि अभियान समेत सुरु गरेका छन् । सङ्क्रमणबाट बच्नका लागि पानी जम्ने स्थानहरू सफा गर्ने, औषधी छर्ने लगायतका काम सुरु गरिएको भीरकोट नगरपालिका प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो ।

स्वास्थ्य संस्थाहरूलाई उच्च सतकर्ताका साथ राख्दै नागरिकलाई सचेत पार्ने काम सुरु गरिएको गल्याङ नगरपालिकाले जनाएको  छ । नगरप्रमुख गुरु प्रसाद भट्टराईका अनुसार यो सम्बन्धी सूचना प्रवाह, शङ्कास्पद बिरामीलाई प्राथमिकताका साथ परीक्षण र उपचार गरिँदै आएको छ ।