• १६ भदौ २०८१, आइतबार

बुद्धिचालमा छात्रछात्राबिच प्रतिस्पर्धा

blog

बुद्धिचाल प्रतियोगितामा विजयी बनेका छात्रछात्रा ।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ १५ गते । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्यावसन) ताप्लेजुङको आयोजनामा बुद्धिचालमा छात्रछात्राले प्रतिस्पर्धा गरेका छन् । व्यावसनको वार्षिक कार्यतालिकाअनुसार आयोजित बुद्धिचाल प्रतियोगितामा छात्रछात्राले प्रतिस्पर्धा गरेका हुन् ।

सदरमुकाम फुङ्लिङस्थित लिटलबुद्ध आवासीय माध्यमिक विद्यालयमा शुक्रबार प्रतियोगिता आयोजना गरिएको हो । प्यावसन ताप्लेजुङमा आबद्ध निजी विद्यालयमा अध्ययनरत विद्यार्थीबिच भएको बुद्धिचाल प्रतियोगितामा माध्यमिक तहको छात्रतर्फ कञ्चनजङ्घा बोर्डिङ स्कुलका अर्पन भट्टराई प्रथम, मेची सेन्टमेरिज बोर्डिङ स्कुलका सर्मिन पौडेल द्वितीय र नवज्योति कञ्चन एकेडेमी बोर्डिङ स्कुलका मिलन लिम्बू तृतीय हुनुभएको छ । 

यस्तै, माध्यमिक तह छात्रातर्फ नवज्योति कञ्चन एकेडेमी बोर्डिङका सृष्टि लिम्बू लिटल बुद्ध आवासीय माविका खुसी श्रेष्ठ र अक्फोर्ड मोडेल इङ्लिस बोर्डिङका अप्सरा लिम्बू क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको छ । आधारभूत तह छात्रतर्फ नवज्योति कञ्चन एकेडेमीका तारा लिम्बू प्रथम, अक्फोर्डका सम्राट् लुइँटेल द्वितीय र तमोर इङ्लिस बोर्डिङ स्कुलका राजु निरौला तृतीय बन्नुभएको छ । 

यसैगरी, आधारभूत तह छात्रातर्फ लिटलबुद्धका रिस्ता गुरुङ प्रथम, पाथीभरा क्यु लर्निङ बोर्डिङ स्कुल हाङ्देवाका किञ्जल हिङ्माङ द्वितीय र नवज्योति कञ्चन एकेडेमीका रुथ शेर्पा तृतीय हुनुभयो । बुद्धिचाल प्रतियोगिताअन्तर्गत माध्यमिक र आधारभूत दुवै तहतर्फका विजेता छात्रछात्रालाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । 

लिटलबुद्ध आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक युवराज गिरीका अनुसार विश्व बुद्धिचाल सङ्घको फिडे नियमअनुसार प्रतियोगिता सञ्चालन गरिएको थियो । विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग गर्ने उद्देश्य राखेर प्यावसनले बुद्धिचालसहित विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको प्यावसन जिल्ला अध्यक्ष गणेश सिग्देलले बताउनुभयो ।

बुद्धिचालका विजेतालाई फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश), लिटलबुद्ध आवासीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कीर्तिमान मादेनलगायतले पुरस्कार वितरण गर्नुभयो ।